कोशीमा काम गरेको भुक्तानी नपाउँदा ९७ परिवार विचल्ली

राजविराज – सप्तरीको भारदहस्थित कोशी ब्यारेजदेखि राजविराज–कुनौली सडक खण्ड अन्तर्गत पर्ने पश्चिमी नहरको सफाई कार्यमा संलग्न पेटीदार, कामदार तथा साझेदार समेतले काम वापतको रकम नपाएको गुनासो गरेका छन् ।

काम सम्पन्न भएको महिनौ बितिसक्दा पनि बाँकी बक्यौता रकम पाउन नसक्दा यसमा श्रम र आर्थिक लगानी गरेका ९७ परिवार पिडामा परेका छन् । पिडित पक्षले शनिवार पत्रकार सम्मेलन गर्दै आ–आफ्नो पिडा सुनाउँदै न्यायका लागि पहल गरदिन सम्बद्ध सबै निकायसँग आग्रह गरे ।

कोशी पश्चिमी नहर सफाईको काम भारत बिहार राज्यको सिँचाई विभाग कुनौली डिभिजनद्वारा झण्डै ३२ करोड भारतीय रुपैयाँका लगानीमा गराइएको थियो । तीन वर्ष अघिदेखि शुरु भएको सो कार्य भारतकै हैदरवादस्थित एनआरएच ईयचजेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको थियो । उक्त कम्पनीले भने प्रभात कुमार मिश्र संचालक रहेको भारतकै त्रिकला इन्डस्ट्री इन्डिया कम्पनीलाई पेटी कन्टयाक्टमा सो काम गर्न जिम्मा दिएको थियो ।

संचालक मिश्रले भने भारतकै विहार राज्य सिपौल जिल्ला विरपुर निवासी अर्का ठेकेदार राजु सिंहलाई साझेदार बनाई निर्माण कार्य शुरु गरेका थिए । मिश्र र सिंहको बराबरी पुँजीमा सुरु भएको उक्त काममा भारतीयसँगै नेपाली मजदुर पनि खटिएका थिए । तर, काम गरेर पनि लामो समयदेखि भुक्तानी नदिँदा आफुहरु मार्कामा परेको पिडित मध्येका सत्यजीत झाले बताए ।

भुक्तानी नदिएपछि केही दिनअघि मात्र निर्माण कम्पनीका ३ वटा स्काईभेटर उनीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो । उक्त स्काईभेटरहरु भारदहस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा राखिएको थियो । तर, पनि भुक्तानी नपाएपछि पिडितहरुका तर्फबाट सप्तरी जिल्ला अदालतमा संचालक मिश्रविरुद्ध मुद्दा समेत परेपछि न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले जनमजदुर, माटो–ढुङ्गा, ट्रक, टिपर, टयाक्टर र इन्धन वापत कबोल गरेको रकम भुक्तानीको टुंगो नलागेसम्म हाल स्काईभेटर र अन्य सवारी साधनको अर्को आदेश वा प्रतिउत्तर परेपछि पुनः विचार गर्ने गरी हाललाई प्रतिउत्तर पर्ने कानून बमोजिमको अवधिसम्म नेपाल बाहिर लान नदिनु आदेश जारी गरेको थियो ।

तर आदेशको उल्लघंन गर्दै एउटा स्काईभेटर भने प्रहरी नियन्त्रणबाट निकालेर ठेकेदारका आफन्तले लगेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ठेकेदारका साझेदार रहेका राजु सिंहले आफुहरुले पाउनु पर्ने सबै १३ करोड अर्का साझेदार मिश्राले बुझिसकेपनि ९ करोड रुपैयाँ मात्र दिएर बाँकी पैसा राखेको कारण आफुले मजदुरहरुलाई भुक्तानी दिन नसकेको लाचारी व्यक्त गरे ।

उनले संचालक मिश्राकै  कारण मजदुरलाई मात्र होईन, पेटी कन्टयाक्टमा आफुले काममा लगाएको नेपाली  ठेकेदार तथा स्काईभेटरको इन्धन र टयाक्टर, टिपर लगायतका सवारी साधनको भाडा समेत दिन समस्या भएको सुनाउँदै नेपाली कानून बमोजिम मिश्राबाट बाँकी बक्यौता रकम असुल गराउन सहयोगका लागि सबैसँग आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस