रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले टीकापुरकाण्डमा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जानकारी दिए । योसँगै अब राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष चौधरीको सजाय माफीसम्बन्धी निर्णय राष्ट्रपति कार्यालयलाई पठाउने मन्त्री आचार्यले बताए ।

यसअघि राष्ट्रपति पौडेलले रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न भन्दै गृह मन्त्रालयमा फाइल फिर्ता पठाइदिएका थिए । सरकारले मंगलबार नै चौधरीलाई आममाफी दिनेसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय पठाएको थियो ।

२०७२ भदौ ७ मा सात जना सुरक्षाकर्मी र एक जना बालकको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा चौधरीलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस