सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

राजविराज– राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौं संस्करण आइतबारबाट सुरु भएको छ । सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ ।

पब्लिक विन्देश्वरी खेल मैदानमा सम्पन्न खेलमा रुपनीले राइडर्स दिएको १५१ रनको लक्ष्य पछ्याउँदै राजविराज द किंग्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमै समेटिए । राजविराज द किंग्सको लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए ।

तृत राज दासले ३३ तथा अविशेक कार्कीले २९ रन बनाएता पनि जित्न पर्याप्त भएन । बलिंगतर्फ रुपनीका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए । धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिंग गरेको रुपनीका लागि प्लेयर अफ द म्याच समेत घोषित फिर्दोश अन्सारीले सर्वाधिक ६१ रन बनाए । उनले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रोहन बिकले ३३ तथा विकास दासले २० रन बनाए ।

बलिंगतर्फ राजविराजका बिक्रम सोबले २ विकेट तथा दिपेश सरदार, तृत राज दास र सोहेल खानले १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा विहान ९ बजे रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस