बलान विहुलमा बजेट पचाउन धमाधम माटो ग्राभेल !

राजविराज – चालु आर्थिक वर्षको खाता बन्द हुने अन्तिम दिनमा पनि सप्तरीको बलान विहुल गाउँपालिकामा बजेट पचाउन धमाधम माटो ग्राभेलको कार्य भइरहेको पाइएको छ ।

जसरी पनि बजेट सिध्याउने नीति बोकेका जनप्रतिनिधि र केही कर्मचारीहरुको मिलोमतोमा ‘वडा नं.३ को विभिन्न टोलको सडकहरुको स्तरोन्नति’ शिर्षकतर्फ एउटै योजनालाई टुक्रा टुक्रा पारेर माटो ग्राभेलको कार्य भइरहेको पाइएको हो ।

उक्त योजनाका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ भने गाउँपालिकाबाट थप ६ लाख रुपैयाँ कुल २६ लाख रुपैयाँ सिध्याउन अहिले धमाधम माटो ग्राभेलको कार्य भइरहेको स्थानीयले बताए ।

‘मौहा चौकदेखि मुर्गा फार्मसम्म र मुर्गा फार्मदेखि बलान खोलासम्मको ९–९ लाख रुपैयाँ तथा मुर्गा फार्मदेखि उत्तर दुधौलाको विद्यालयसम्म ८ लाख रुपैयाँ तीन टुक्रामा माटो ग्राभेल कार्य भइरहेको छ’ उनले भने, ‘३ वटै टुक्रा फरक–फरक फर्मसँग समझौता भए पनि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका भाई बलराम यादवले काम गराइरहेका छन् ।’ उनका अनुसार सो बजेटको सम्पूर्ण रकमको चेक काट्ने मिलोमतो रहेको छ ।

कर्मचारी श्रोतकै अनुसार उक्त कार्य बजेट पचाउनकै लागि भइरहेको छ । ‘पहिलो कुरा त कोटेशनमार्फत काम गर्नका लागि उक्त योजनालाई टुक्रा–टुक्रा पारियो’ उनले भने, ‘प्रदेशको बजेटलाई २ टुक्रा र गाउँपालिकाको १ गरी ३ टुक्रा पारेर असार १३ गते समझौता भएको थियो तर काम भने असार २२ गतेदेखि सुरु भएको हो ।’

अहिले दुई दिनदेखि हतार हतार गरेर अपारदर्शी ढंगले काम भइरहेको उनको कथन छ । ‘त्यो कुरा रेखदेख गर्ने कसैलाई मतलबै छैन्’ उनले भने, ‘कसले कति कमिशन पाउने कुरा नै कर्मचारीदेखि जनप्रतिनिधिका लागि प्राथमिकताको विषय हो ।’

गाउँपालिकाका ईन्जिनियर अवधेशकुमार यादवले उक्त माटो ग्राभेल कार्य अहिले मुल्यांकनको क्रममा रहेको बताए । ‘हामीले मुल्यांकनकालागि प्राविधिकलाई दिउँसो २ बजेसम्मको समय दिएका छौं, ढिलो गरी बजेट आएकोले काम सुचारु गराउन पनि ढिलो भएकै हो तर काम जतिकै हुन्छ हामीले त्यति नै मुल्याकंन गर्छौ र सोहीअनुसारको भुक्तानी मात्रै हुन्छ ।’

गाउँपालिकाका अध्यक्ष यादवले जनताको आवश्यकताअनुसार अहिले प्रदेश र गाउँपालिकाको बजेटबाट माटो ग्राभेलको कार्य भइरहेको प्रतिक्रिया दिए । ‘ढिलो गरी बजेट आएकोले १३ गतेदेखि नै माटो ग्राभेलको कार्य भइरहेको छ, १२ दिनमा माटो ग्राभेलको काम गर्न सकिदैन र?’ उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले अपारदर्शी ढंगले काम भइरहेको बारे अनभिज्ञता व्यक्त गर्दै काम बमोजिम नै भुक्तानी गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस