रुपनीको स्कोरपिओ मध्य रातमा बजारियो, प्रश्न उठाउदा अभियानतामाथि कुटपिट

राजविराज – सप्तरीको रुपनी गाउँपालिकाको स्कोरपिओ मध्य रातमा दुर्घटनामा परेको खुलेको छ । स्थानीय सामाजिक अभियानता राजु जयसवालले स्कोरपिओ दुर्घटनामा परेको विषयबारे प्रश्न उठाउदा कुटपिटमा परेपछि घटना बाहिरिएको हो ।

स्थानीयका अनुसार गए राति स १ झ ५१८ नम्वरको स्कोरपिओ दुर्घटनामा परेको थियो । दुर्घटनाका कारण स्कोरपिओमा आंशिक क्षति पुगेको छ । सोही विषयलाई लिएर अभियानता जयसवालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका थिए ।

सो निँहुमा गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र वडा नम्वर १ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादवले जयसवाललाई कुटपिट गरी मोबाइल समेत खोसेको स्थानीयहरु बताउँछन् । पिताम्बर वडा नम्वर १ की अध्यक्ष लिला यादवका श्रीमान् हुन् ।

सो विषयमा वडाध्यक्ष लिला र निवर्तमान वडाध्यक्ष पिताम्बरलाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।

गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले राजविराजबाट आउँदै गर्दा दुर्घटनामा परेको स्वीकार गरे । ‘एउटा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको हो, चालकलाई समान्य चोट लागेको छ भने स्कोरपिओमा पनि समान्य क्षति भएको हो’ सो विषयमा प्रश्न उठाउँदा अभियानतालाई कुटपिट नै गर्नुभयो? भन्ने प्रश्नमा अध्यक्ष यादवले भने, ‘कुटपिटै त भएको छैन्, समान्य भनाभन भएको हो । उहाँको मोबाइल हराएको छ, हामी पनि मोबाइल खोजी गर्दैछौं ।’

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले घटनाबारे बुझ्ने प्रयास भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस