पर्खाल नाघेर भागेका कर्मचारी हाकिमकै गाउँले, ‘पिसी’ उठाउनै करारमा राखेको खुलासा 

राजविराज, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार छापा मारेपछि सामाजिक विकास इकाई सप्तरीमा कार्यरत सब–इन्जिनियर अजयकुमार साफीले कमिशन ‘पिसी’ लिएको रकम र चेक फ्याकी पर्खाल नाघेर भागे ।

उनले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक आयोगको टोलीले बरामद गरेको पाइएसँगै ती कर्मचारीसँग जोडिएको ‘कमिशन’ को ‘कनेक्शन’बारे थप खुलासा भएको छ । डेढ वर्षअघि सब–इन्जिनियरमा करारमा नियुक्ती पाएका साफी इकाई प्रमुख दुनियालाल यादवकै गाउँले हुन् ।

जिल्लाको बलान विहुल गाउँपालिका–४ वेल्ही बस्ने इकाई प्रमुख यादवले सोही गाउँपालिका–३ मौहा बस्ने सब–ईन्जिनियर साफी ‘पिसी’ उठाउनैका लागि करारमा नियुक्ती दिएको श्रोतले बताए । ‘हाकिमले हरेक योजनामा ७ देखि १२ प्रतिशत पिसी सब–ईन्जिनियर साफीमार्फत नै उठाउँछन्’ उनले भने, ‘चिनजानको व्यक्ति भयो भने ७ अन्यथा १० वा १२ प्रतिशत पिसी हाकिमकै हिस्सामा जाने गर्छन्, मैले एउटा योजना चलाउँदा समस्या सुनाएपछि ९ प्रतिशतमा कुरा मिलेको थियो । त्यो चेक पनि साफीलाई नै बुझाउन भनिएको थियो र मैले नामै उल्लेख नगरी चेक बुझाए पनि ।’

अहिले पनि सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी ‘पिसी’ नपाएरै चेक थन्काएर राखेको उनले बताए । ‘चेकको म्याद पनि अब सकिने बेला हुन लागेकोले हतार–हतारमा पिसी लिँदै चेक दिन थालेका छन्, सोही कार्यलाई बिहिवार पनि तीव्रता दिइएको थियो र अख्तियारको टोली आइहाल्यो’, उनले भने ।

उपभोक्ता समितिले सम्पन्न गरेको सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयको चार कोठे अधुरो भवन निर्माण कार्यको भुक्तानी दिनका लागि माग गरेको कमिशन लिँइरहदा बिहिवार आयोगको टोली हेरेर सब–इन्जिनियर साफीले पर्खाल नाघेसँगै अन्य कर्मचारीहरु भागाभाग भएका थिए ।

सूचनाको आधारमा इटहरीबाट खटिएको टोलीले १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यता, इकाई प्रमुख यादवले आफुले कसैसँग ‘पिसी’ नलिएको र कुनै कर्मचारीलाई पनि ‘पिसी’ लिन नभएको प्रतिक्रिया दिए । ‘अब चेकमार्फत पिसी लिइरहेको वा लिएको भन्ने विषयमा मलाई जानकारी छैन्,’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस