सप्तकोशी नदीमा तीन दशकयताकै उच्च बहाव

राजविराज – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव सोमबार तीन दशक यताकै उच्च भएको छ । विहान ५ बजे ४ लाख ५२ हजार ७१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेको थियो । दिउँसो १२ बजे भने ३ लाख ६५ हजार ७१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

अझैं कोशी ब्यारेजमा ५६ वटै ढोका खुल्ला रहेको ब्यारेज प्रशासनले जनाएको छ । सन् १९६२ मा सप्तकोशी ब्यारेज निर्माण हुँदा ९ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड बहाव क्षमता कायम गरिएको थियो । भारतको कोलकातास्थित जोसेफ एन्ड कम्पनीले सन् १९५२ देखि १० वर्ष लगाएर सन् १९६२ मा कोशी ब्यारेजको निर्माण सम्पन्न गरेको थियो ।

कोशी ब्यारेज निर्माणताका नदीमा बालुवा जमेको थिएन र त्यतिबेला नौ लाख ५० हजार क्युसेक बहाव क्षमता थियो कोशी ब्यारेजको । निर्माण भएको ६ वर्षपछि अर्थात् सन् १९६८ मा कोशी ब्यारेज हुँदै ५ अक्टुबरका दिन अहिलेसम्मकै सबभन्दा बढी बहाव नौ लाख १३ हजार क्युसेक प्रतिसेकेन्ड मापन भएको थियो । त्यतिबेला कोशीको पुलसमेत थर्किएको थियो । तर कुनै किसिमको दुर्घटना भने भएको थिएन ।

त्यसपछिको अत्यधिक बहाव सन् १९९० को १२ अगस्तमा ब्यारेज भएर पाँच लाख नौ हजार ५ सय क्युसेक मापन भएको थियो । सन् १९६८ को ५ अक्टुबरदेखि १९९० को १२ अगस्तका बीचमा पटक–पटक पाँच लाखभन्दा कम र एक लाख ५० हजार क्युसेकभन्दा माथि पानीको बहाव रेकर्ड भएको कोशी ब्यारेज नियन्त्रण कक्षको तथ्यांकमा छ । कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सन् २०१० अगस्त २१ मा कोशी ब्यारेज हुँदै तीन लाख ४० हजार ४६० क्युसेक बहाव रेकर्ड भएको थियो । पछिल्लो वर्षहरुमा पानीको बहाव अत्यधिक नदेखिए पनि ३३ वर्षपछि आज (सोमबार) ४ लाख ६२ हजार क्युसेक बहाव मापन भएको हो ।

२ भदौ ०६५ को मध्याह्न १२ बजे सुनसरीको पश्चिम कुशाहस्थित पूर्वी टतबन्ध भत्किँदा कोशी ब्यारेज हुँदै एक लाख ६० हजार ५६२ क्युसेक बहाव मात्रै थियो । जबकि सोही दिनको बिहान ८ बजे भने ब्यारेजमा एक लाख ६८ हजार ८४२ क्युसेक बहाव थियो ।

पश्चिम कुशाहमा कोशी भत्किँदा नेपालतर्फ सुनसरीको तत्कालीन पश्चिम कुशाहसहित श्रीपुर जब्दी, हरिपुर र लौकही गाविसका ४२ हजार जनता घरवारविहीन भएका थिए भने छिमेकी भारत बिहारका एक दर्जन जिल्ला जलमग्न भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780