मिटरब्याजी पीडित संघर्ष समिति नै असुली धन्दामा लागेको खुलासा

राजविराज, ८ भदौ । अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरु नै असुली धन्दामा लागेको खुलासा भएको छ ।

समितिका सचिव छेदीलाल पासवानले मिटरब्याजी (पीडक)सँग ‘बार्गेनिङ’ गर्दै गरेको ‘अडिओ’ नै ‘मधेशलाईभ’लाई प्राप्त भएपछि असुली धन्दाबारे खुल्न आएको हो । ‘भित्र (जिल्ला प्रशासन कार्यालय)मा एक्सनलालको पूजा गर्नुपर्छ, २/४ वटा दिनुस् अनि मात्रै केही गर्न सकिन्छ’ मिटरब्याजीसँग भएको सम्वादमा सचिव पासवानले भनेका छन्, ‘२/४ लाख रुपैयाँ ल्याउनुस्, हजारको कुरा होइन्, अहिले तत्काल २ लाख रुपैयाँको व्यवस्था गर्नुस्, अरु पछि मिलाउँला ।’

भित्र पैसा दिएपछि जसो गरी मिलाउन भन्छु, त्यसरी नै मिल्छ पनि तर पैसा विना काम नहुने सचिव पासवानले अडिओमा स्पष्ट गरेका हुन् । ‘यो कुरा दुई जनाको बीचमा मात्रै राख्नुहोला, बाहिर नजाओस् हैं’ अडिओमा थपेका छन्, ‘थप कुरा साँझ ७ बजे बोदे बरसाइनमा गरौं र मोटरसाइकलमा एकलै आउनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी र पीडितहरुबीच हुँदै आएको छलफलमा मिटरब्याजी विरुद्ध संघर्ष समितिकातर्फबाट प्रतिनिधित्व गरिरहेका सचिव पासवानले अहिले तत्कालै घर जाउ भन्दै अडिओ सम्वाद टुंगिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले ‘बार्गेनिङ’को प्रमाण आएको खण्डमा ती व्यक्तिउपर कारबाहीकालागि लेखि पठाउने प्रतिक्रिया दिए । ‘अहिले उहाँहरु छलफलमै बस्नु हुनन् तर त्यस्तो अडिओ पाइएको खण्डमा हामी कारबाहीका लागि लेखि पठाउँछौं ।’, उनले भने ।

उता, मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलालले ‘बार्गेनिङ’ गरेको विषय अस्वीकार गर्नुभएको छ । ‘मैले कसैसँग बार्गेनिङ गरेको छैन्’, उनेले भने ।

कारबाहीका लागि गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

समितिका पदाधिकारीहरुले दुवै पक्ष (पीडक र पीडित)सँग ‘बार्गेनिङ’ गर्दै असुली गर्ने गरेको पीडितहरुले नै पटक–पटक राजविराजमा पत्रकार सम्मेलन नै गरेर गुनासो गर्दै आएका छन् । यद्यपी, उनीहरुले असुली धन्दा जारी नै राखेको पीडितहरु बताउँछन् ।

पछिल्लो पटक साउन ३१ गते बुधवार उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै असुली धन्दाबारे ध्यानाकर्षण गराएका हुन् ।

‘संघर्ष समितिका अध्यक्ष मो.तैयब अलि, सचिवद्वय छेदीलाल पासवान र विन्दु साहले विभिन्न व्यक्ति (पीडक र पीडित)सँग रकम लेनदेन गरेको प्रमाण सहित जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा मौखिक तथा अडिओ दिँदा समेत कुनै किसिमको कारबाही नगरेको’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सो कारणले उनीहरु झन हामीमाथि आक्रमक बन्दै गएको र गुटबन्दी गरी गाली बेइज्जती गर्दै थप पीडित बनाउँदै आएका छन् ।’

उनीहरुलाई कारबाही गर्न ध्यानाकर्षण पत्रमार्फत माग समेत गरिएको छ ।

नोटः अडिओ संवादमा अपशब्द प्रयोग भएको पाइएकोले हटाइएको .

 

Author:



क्याटोगरी छान्‍नुहोस