बलान नदीको बाँध भत्कियो, सय घर डुबान [तस्बिरहरु]

राजविराज, ८ भदौ । निरन्तरको वर्षासँगै शुक्रवार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ ।

बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो टोलका १ सय भन्दा बढी घर डुवान भएको छ भने जनजीवन प्रभावित भएको छ । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित स्थानीय विश्वनाथ यादवले जानकारी दिए ।

उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको हो । ‘गुणस्तरीय रुपमा बाँध निर्माण नहुँदा बाँध भत्कियो’ उनले भने, ‘यस क्षेत्रका जनतालाई वर्षेनी यस्तै समस्याले पिरोलेका हुन्छन् तर पनि ठोस रुपमा बाँध निर्माण गराउनेतर्फ सरोकारबालाको ध्यान पुग्दैन् ।’

उनले दिर्घकालिन समाधानका लागि पहल गरिदिनु हुन आग्रह गरे ।

प्रजिअसहितका टोलीद्वारा स्थलगत निरीक्षण

बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए ।

‘बाढीले थप क्षति नहोस् भनि हामीले बाँध भत्किएसँगै सशस्त्र र नेपाल प्रहरीको टोली खटाएका थियौं, अहिले स्थलगत निरीक्षण गरेका छौं’ उनले भने, ‘तत्कालै हामीले गर्नुपर्ने कार्य गरिसकेकै हो । थप यस विषयमा अन्य सरोकारबालासँग पनि समन्वय गर्छौ ।’

टोलीमा उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख रमणकुमार साह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस