वीरगंजमा अनुमतिबिना सञ्चालित ९ वटा शैक्षिक संस्थालाई जरिवाना गर्ने निर्णय

जनकपुरधाम– वीरगंज महानगरपालिकामा अनुमतिबिना सञ्चालित ९ वटा शैक्षिक संस्थालाई जरिवाना गर्ने भएको छ ।

सोमबार बसेको शिक्षा समितिको बैठकले ती संस्थालाई १/१ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । अनुगमनका क्रममा शिलबन्दी गरेका शैक्षिक संस्थालाई जरिवाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न रोक लगाउने र उनीहरूले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेशनल कलेजलाई जरिवाना गरिएको हो ।

त्यसैगरी बिजी बिज किड्स प्रि स्कुल पनि ५० हजार रुपैयाँ जरिवानामा परेको छ। आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरूपयोग गर्ने ९ वटा विद्यालयलाई समेत दण्ड जरिवाना गरी नसिहत दिइएको छ ।

पिस जोन एकेडेमी, ओसिस मावि, ग्रिनल्याण्ड मावि, गोल्डेन वाटिका स्कुल, ज्ञान निकेतन मावि, न्यू वेभ एकेडेमी, एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगंज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति अरूलाई प्रयोग गर्न दिएर अनुमतिपत्र दुरूपयोग गरेकाले ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको महाशाखा प्रमुख कर्णले बताए।

शिक्षा समितिले गठन गरेको संस्थागत विद्यालय नियमन समितिले भदौ १३ गतेदेखि अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि शिलबन्दी गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस