मधेशका सिडिओहरुको ‘ब्रिफिङ’-धार्मिक र सामाजिक सद्भाव बिग्रने जोखिम उच्च

जनकपुरधाम– मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले देशमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता रसद्भावनामा खलल पुर्‍याउन केही तत्वहरु सक्रिय देखिएको विषय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष जानकारी गराएका छन् ।

बुधबार बर्दिबासमा आयोजना गरिएको समसामायिक सुरक्षा सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रियामा सो विषयबारे ‘ब्रिफिङ’ गरिएको हो ।

मधेश प्रदेशका ८ वटै जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको सो अन्तरक्रियामा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भाव बिग्रने जोखिम मधेशमै बढी देखिएको ‘ब्रिफिङ’मा पाइएको स्रोतले बताए ।

त्यस्तै, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपय गलत नियत भएका व्यक्तिबाट वाधा-व्यवधान खडा गर्दै आइरहेको, कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा हुदै आएको, सामाजिक संजालको कतिपय समाग्रीले उत्तेजना निर्माण गर्दै आएको विषयमा ‘ब्रिफिङ’ समेटिएको छ ।

त्यस्तै, भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको अत्यधिक प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने समेत गृहमन्त्री श्रेष्ठलाई जानकारी गराइएको जनाएको छ ।

‘ब्रिफिङ’ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन समेत दिएका छन् ।

अन्तरक्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेश प्रदेश प्रमुख लगायतका सुरक्षा प्रमुखहरुको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस