राजविराज–सप्तरीको राजविराज कारागारमा मंगलबार एक कैदबन्दीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका जिल्लाको राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए ।
उनका अनुसार विहान खाना खाएपछि उनी हातमुख धुन ट्युवेलमा पुगेका थिए । ट्युवेलमै अचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याइएको थियो । उपचारकै क्रममा मण्डलको मृत्यु भएको कारागारका प्रमुख दासले बताए ।
उनका अनुसार ०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका उनी केही समयदेखि दम रोगबाट पीडित थिए ।
‘कति पटक उहाँका छोराले पनि उपचार गराइसकेका थिए र आज अचानक उहाँ लड्नुभयो अनि हामीले तत्कालै अस्पताल पुर्याएका थियौं’, कारागारका प्रमुख दासले भने ।