सुरुङ्गाका आधा दर्जन योजनामा अख्तियारले छानविन गर्दै

राजविराज – जनप्रतिनिधि र कर्मचारी मिलेर हाकाहाकी लुट मच्चाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका आधा दर्जन योजनाहरुमा छानविन सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गत वर्षका ती योजनाहरुमा छानविन सुरु भएको हो ।

सडक ढलान कार्य नहुँदै ११ मध्ये १० लाख रुपैयाँ निकासा भएको ‘साविक दौतलपुर ४ लठ्ठु चौधरीको घरदेखि पश्चिम जन प्रभात माविको पार्कसम्म आरसिसि ढलान’, दुई वटा शिर्षक गरी साढे ३ लाखमध्ये ३ लाख ४५ हजार २ सय १५ रुपैयाँ खर्च गरेको ‘स्वास्थ्य चौकी भवनको डिपिआर वडा नम्वर ३’, १० लाखमध्ये ९ लाख ६६ हजार ४ सय ७२ रुपैयाँ खर्च गरेको ‘दौतलपुर ७ भुसिमहुलिया पिच बाटोदेखि दक्षिण राम नारायण चौधरीको घरको बाटो ढलान वडा नम्वर ३’ योजनाहरुमा छानविन सुरु भएको आयोग श्रोतले बताए ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको बाँकी भुक्तानी भन्दै करिब ४ लाखमध्ये ३ लाख ८४ हजार १ सय ६९ रुपैयाँ निकासा भएको ‘मुसन मण्डलको घरदेखि पार्कसम्म माटो ग्राइभेल’, ‘नयाँ टोलमा खेल मैदानमा माटो र मञ्च निर्माण’मा ४ लाख ८७ हजार ९ सय ९४ रुपैयाँ मध्ये ४ लाख ७३ हजार ४ सय ९३ रुपैयाँ अघिल्लो आर्थिक वर्षको भन्दै भुक्तानी भएको ती योजना र वडा नम्वर ४ मा ‘कनकपुर हनुमान मन्दिर हुँदै वडा नम्वर ५ जोड्ने सडक मर्मत’ को छानविन सुरु भइसकेको उनले बताए ।

‘मंसिर १९ गते नै उजुरी दर्ता भएर आवश्यक प्रक्रिया अघि बढाएका छौं’ उनले भने, ‘ठ्याक्कै अनुसन्धान प्रक्रिया कहाँसम्म पुग्यो भन्ने कुरा त भन्न मिलेन तर छिट्टै हामी कागजी प्रक्रिया सकाउँछौं र स्थलगत पनि पुग्छौं ।’ आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस