नेता महतोको कटाक्ष–काँग्रेस, माओवादी र एमालेको आन्दोलन राजनीतिक अनि हाम्रो चैं आपराधिक

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राज्य पक्षले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई आपराधिक घटना करार गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएको छ, पहिचान र अधिकारकालागि लडेका योद्धामाथि यस्तो सजाय सुनाउनाले राज्य पक्षले नै मधेश आन्दोलनलाई अपराध करार गरेको सावित हुन जान्छ ।’

उनले अदालतको फैसलाभन्दा पनि राज्य पक्ष (प्रहरी)ले सो किसिमको सजाय माग दावी गरेको प्रति आक्रोश व्यक्त गरे । ‘काँग्रेस, माओवादी, एमाले लगायतका दलहरुले गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको होइन’ उनले भने, ‘ती आन्दोलनका कति जनालाई आजीवन कारागार भएको छ ?, त्यो कुरा मधेशवादी दलले मनन गर्ने बेला आइसकेको छ ।’

नेता महतोले मधेश आन्दोलनमा लागेकामाथि आजीवन कारावासको सजाय सुनाउँदा पनि मधेशवादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे । ‘राज्यको एकल जातिय नश्लवादी चिन्तन भएकोले हामीहरुलाई कदापि स्वीकार्य हुन सक्दैन ।’ उनले भने, ‘लोसपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका मधेशवादी दलहरुले सत्ता त्यागेर आन्दोलनमा उत्रने समय आइसकेको छ ।’

आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजीवन कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेकोप्रति असन्तुष्टि जनाउँदै नेता महतोले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस