मेयर चौधरीले भ्रष्टाचार ढाकछोप गर्न गलत वक्तव्यबाजी गरेकी संघर्ष समितिको दावी

राजविराज–सुरुङ्गा नगर निर्माण संयुक्त संघर्ष समिति, सप्तरीले सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले भ्रष्टाचारलाई ढाकछोप गर्न प्रेस विज्ञप्तिमार्फत वक्तव्यबाजी गरेकी दावी गरेको छ ।

समितिले मंगलबार विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको मिलोमतोमा कामै नगरी निकासा भएको विषय पत्रकार र नागरिक समाजले खुलासा गरेपछि नगरपालिकाबाट जारी गरिएको विज्ञप्तिमा कुनै सत्यता नरहेको उल्लेख गरेको हो ।

‘पुस ५ गते नगर प्रमुख गिता चौधरीद्वारा जारी भएको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको छ, प्रेशित विज्ञप्ति सरासर झुठो हो ।’ समितिको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विज्ञप्तिमा उल्लेख गरिएको साविक दौलतपुर–४ लटटु चौधरीको घरदेखि पश्चिम जन प्रभात मावि चेउको पार्कसम्म पिसिसि ढलान ३ नं.वडा स्तरीय योजना विनियोजित ऐन २०७९ को नगर स्तरीय सि.नं.४३ को आयोजना र ३ नं. वडा स्तरीय सि.नं.९ को आयोजनामा आरसिसि ढलान भनि उल्लेख भएको छुट्टा–छुट्टै आयोजनाहरु ०७९ असार २७ गतेको नगर सभाबाट स्वीकृत भएको हो ।’

तर, सडक निर्माण कार्य नगरी जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको मिलोमतोमा १० लाख रुपैयाँ निकासा भइसकेको छ । ‘सुरुङ्गा नगरलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त नगर निर्माणको अभियानमा जुटेका सुरुङ्गा नगरका नागरिक समाज प्रति समृद्धि विरोधी भनि लगाएको झुठा लालछनामा कुनै सत्यता छैन्’ विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित आयोजना मात्रै होइन, दर्जनौं भ्रष्टाचारका काण्ड यो नगर सरकारले मचाएका छन् ।’

समितिका संयोजक दिलिप थारु र सह संयोजक शिवशंकर चौधरीले जारी गरेको विज्ञप्तिमा ती सबै विषयमा छानविन गरी कारबाहीको लागि सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

यसअघि सडक ढलान कार्य नहुँदै ती योजनाको १० लाख रुपैयाँ झ्वाम पारेको विषयमा समाचार सार्वजनिक भएपछि मेयर चौधरीले विज्ञप्ति जारी गर्दै दुई वटा योजनालाई एकिकृत गरी ठेक्का आह्वान गरिएको र तीमध्ये एउटा योजनाको कार्य सकिएपछि सो रकम नै निकासा दिइएको उल्लेख गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस