बोर्डरमा खटिएका प्रहरीको दुखेसो–अवैध माल समाउदा हाकिमकै गाली खानुपर्छ

राजविराज, २२ पुस । सप्तरीको सिमावर्ती क्षेत्रमा तस्कर र प्रहरीसँगको ‘सेटिङ’ मा मौलाएको तस्करी धन्दाले साना दर्जाका प्रहरी नै पीडित हुन पुगेको पाइएको छ ।

तस्करीको ‘हटस्पट’का रुपमा रहेको जिल्लाको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकासँगै पूर्वतर्फ ३–४ किलोमिटरको दुरीमा रहेको बनैनिया नाकास्थित चेकपोष्टमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरीले यस्तो दुखेसो पोखेका हुन् ।

‘हैट यो कस्तो जागिर हो ? देशका लागि काम गर्न खोज्दा पनि हाकिमकै गाली खानुपर्छ’ बोरामा खैनी (सुर्ति) बोकेर निर्वाद रुपमा गइरहेका व्यापारीबारे प्रश्न गर्दा चेकपोष्टमा खटिएका ती प्रहरीले भने, ‘यिनीहरुलाई हाकिमले नै लाइन दिएका हुन्छन्, हामीले रोकेर पनि गर्ने के ?’

अवैध मालसमान बोकेर गइरहेकालाई रोकेपछि गाली खाएर फेरी छाड्नै पर्छ भन्दै उनले भने, ‘होइन, तपाईहरु पत्रकार हो र?, हो भन्ने कहिले काही क्यामेरा लिएर यो नाका र पाँची खोलाको पुलतिर आइदिनु न, हामीलाई पनि डियुटी गर्न सहज हुन्छ ।’

व्यापारी र हाकिमको कचकचबाट हैरान भइसके पनि बालबच्चा र परिवारको गुजारा चलाउन बाध्य भएर यो जागिरलाई पार्टटाइम सम्झेर दिन काटिरहेको उनको भनाई छ ।

स्थानीय श्रोतकाअनुसार बनैनिया नाकाबाट दैनिक लाखौं रुपैयाँको लत्ताकपडा, खैनी, चिनी र पानी तान्ने मोटरसहितका मालसमान चेकपोष्टमा खटिएका प्रहरीको आँखै अगाडीबाट अवैध रुपमा नेपाल भित्रिन्छ ।

‘लत्ताकपडा, खैनी, चिनी र पानी तान्ने मोटर बनैनिया नाका हुँदै तथा ठुलो परिमाणको मदिरा झुटकी नाका हुँदै वनटोल र सुब्बाटोल (भारत)सम्म पठाइन्छ’ श्रोतले भन्यो, ‘त्यसको लागि प्रहरीले मासिक रुपमै ठुलो रकम लिन्छ र लाइन दिन्छन्, तर केही समयअघि आएको समाचारका कारणले हाल मदिरा तस्करी रोकिएको बुझियो, अब फेरी सुरु हुने कुरा पनि चल्दैछ ।’

बोर्डर आउट पोष्ट (बिओपी) बनैनियाका सशस्त्र प्रहरी निरीक्षक ओरेन तामाङ्गले ती कुरामा सत्यता नरहेको प्रतिक्रिया दिए । ‘म समक्ष त्यस्तो गुनासो आएको छैन्, डियुटी वा खानाको विषयमा कहिले काहीँ यता–उता हुन गएको होला त्यसलाई लिएर अन्यथा भनेको हुनसक्छ’ उनले भने, ‘त्यस्तो कसले गुनासो गरेको हो ? नाम बताइदिनुस् न ।’

उता, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले ती विषयमा आवश्यक कुरा बुझ्ने प्रतिक्रिया दिए । ‘त्यस्तो त नहुनुपर्ने हो, यद्यपी ती विषयमा एसपीलाई खटाएर बुझ्न लगाउँदै छु’, उनले बताए ।

(यी घटनाको अडिओ र तस्बिरहरु मधेशलाइभसँग सुरक्षित छ)

Author:



क्याटोगरी छान्‍नुहोस