सप्तकोशी नगरपालिकाका निमित्त कार्यकारी अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनालाई दोषी ठहराएको हो ।

अदालतले राजेन्द्रप्रसाद, सुदीप, रामकान्तलाई जनही ४ लाख ९९ हजार, त्यतिनै जरिवाना र ३ महिना कैद ठहर गरेको छ । त्यसैगरी, निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ, जरिवाना र रकम बिगो असुलसमेत गर्नुपर्ने विशेष अदालतको ठहर छ।

नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसादले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेका थिए । दाहालले आफै निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको दाबी थियो ।  

सम्झौता अनुसार गुणस्तरहीन कार्य गरेको, नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदिप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झुठा प्रतिवेदन पेश गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस