सप्तरीका कर्मचारी शहिद यादवको शालिकमा माल्यार्पण

राजविरा–सहिद दिवसको अवसर पारेर सप्तरीका कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा मंगलबार माल्यार्पण गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको परिसर तथा जिल्लाको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा रहेको यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी समेतले माल्यार्पण गरेका हुन् ।

जिल्ला समन्वय समितिको परिसरमा रहेको जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता प्रभाकर यादव, छिन्नमस्ता गाउँपालिकाकाका अध्यक्ष विद्यानन्द चौधरी, जसपाका नेता निरज मुक्ति, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतकाले शहिद यादवको शालिकमा माल्यार्पण गरेका छन् ।

त्यस्तै, गत वर्ष शहिद दिवसको अवसरमै तोपा बजारमा अनावरण गरिएको यादवको शालिकमा पनि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल लगायतकाले माल्यार्पण गरेका छन् ।

कर्मचारी शहिद यादव तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत थिए । ०६४ साल कात्तिक १२ गते कार्यालयबाट घर फर्किने क्रममा राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक ४७ वर्षीय यादवलाई गोली हानी हत्या भएको थियो ।

सरकारले सोही महिनाको कार्तिक २७ गते यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो । कर्मचारी शहिद यादवका जेठा छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जीवन्त राख्न सहिद प्रभुनारायण यादव स्मृति ट्रष्ट स्थापना गरी सामाजिक गतिविधि गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस