अध्यक्षविरुद्ध मुद्दा दर्तामै वित्यो ९ महिना,  होला त निष्पक्ष अनुसन्धान ? (फलोअप)

राजविराज–चोरी डाँका गरेको ९ महिनापछि सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अध्यक्ष यादवसहित सोही ठाउँका २७ वर्षीय राम यादव, ३५ वर्षीय पिताम्वर यादव र ३२ वर्षीय सरोज यादवले गत असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै चोरी डाँका गरेको भन्दै सोही गाउँपालिका–१ का किरणकुमार जयसवाल (राजु)ले असार २६ गते जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले आलटाल गर्दै महिना दिन विताएपछि उनी न्याय गुहार्दै परमादेशको आदेश माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा गत मंसिर २२ गते नै अदालतका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासबाट जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भएको थियो । यद्यपी, प्रहरीले मुद्दा दर्ता अनाकानी गर्दै आएका थिए ।

पछिल्लो पटक फागुन १२ गते जिल्लाको कल्याणपुरस्थित एक कार्यक्रममा सहभागी हुन आएका तत्कालिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेशलाइभले गरेको प्रश्नमा सरकार आम जनताहरुको पक्षमा रहेको बताउँदै सो विषयमा कानूनअनुसार अघि बढ्न प्रहरीलाई निर्देशन दिएका थिए ।

परमादेशबाट आएको मुद्दा दर्ता भएर कानूनअनुसार अघि बढेको सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘मुद्दा दर्ता भएर अनुसन्धान अघि बढिसकेको छ’, उनले भने ।

यद्यपी, गाउँपालिका अध्यक्षमाथिको मुद्दा रहेकाले पीडितले समयमै न्याय पाउने कुरामा दुविधा रहेको स्थानीयहरु बताउँछन् ।

घटना के हो ?

जयसवालले गत साउन २३ गते उच्च अदालतमा मुद्दा दिएका थिए । त्यसअघि जयसवालले रुपनी गाउँपालिका–१ बस्ने ५१ वर्षीय गाउँपालिका अध्यक्ष यादवसहितकाले ४ जनाले बाटोमै घेरा हालेर हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरेको भन्दै जाहेरी लिएर प्रहरीमा पुगेका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि जयसवालले गत असार २६ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पनि पठाए । तर, प्रहरी पनि जाहेरी भने दर्ता गर्न मानेनन् ।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटक–पटक गालीगलौच गर्दै ज्यान मार्ने धाम्की दिँदै आएको, गत असार २३ गते रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरेको’ जयसवालले दिएको जाहेरीमा उल्लेख रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस