जनमत पार्टीका सांसद यादवले गरे पूर्वाधार कार्यालयका प्रमुखमाथि हातपात 

राजविराज—सिके राउत नेतृत्वको जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशसभा सदस्य महेशप्रसाद यादवले आइतबार दिउँसो पुर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीमाथि हातपात गरेका छन् ।

दुई वटा योजनाको चिट्ठी आफुले पठाएको व्यक्तिलाई नदिएको भन्दै मधेश प्रदेश सरकारका निवर्तमान शिक्षा मन्त्री समेत रहेका यादवले आफूलाई कार्यालयमै हातपात गरेको पुर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए ।

उनका अनुसार प्रदेश सरकारको रेडबुकमा रहेको १०–१० लाख रुपैयाँको दुईवटा योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३ का वडा सदस्य चन्द्रिका यादव आइतबार दिउँसो पुर्वाधार विकास कार्यालय राजविराज आएका थिए ।

कार्यालय प्रमुख अधिकारीले राजविराज नगरपालिका–१३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महाबिर स्कूलसम्म आरसीसी ढलानको दुवै योजना संचालनका लागि कोटेसनको सुचना निकालिसकेको जवाफ वडा सदस्य यादवलाई दिएका थिए ।

त्यसपछि वडा सदस्य यादवले निवर्तमान शिक्षा मन्त्री महेश यादवलाई फोन लगाउँदै कुरा गर्न कार्यालय प्रमुख अधिकारीलाई थमहाएका थिए । कुरा गर्ने क्रममा निवर्तमान मन्त्रीको आवाज नचिनेको भन्दै वडा सदस्य यादवले फोन लिएका थिए ।‘त्यसको केही बेरमै निवर्तमान मन्त्री ज्यु आउनुभो, मैले नमस्ते भने उहाँले हातपात गर्न थाल्नुभो’, उनले भने ।

निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभाद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझी समेत सोही कार्यालयमा रहेका थिए ।

प्रदेश सभा सदस्य अलीले निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात नभई धकेलाधकेल गरेको बताए । हातपातछि कार्यालय प्रमुख अधिकारीले कार्यालयमा काम गर्ने सहज वातावरण नभएको बताए ।

निवर्तमान मन्त्री यादवले हातपात गरेको कुरा अस्विकार गरे । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफु आवेशमा आएको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुर्व्यवहार भएको जनाकारी प्राप्त भएको र बुझ्ने काम भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस