कुख्यात मिटरब्याजी भगत परिवारको जालो–नियत नै ऋणीको जग्गा हडप्ने

राजविराज – ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका कुख्यात मिटरब्याजी परमानन्दसहित भगत परिवारले फैलाएको जग्गा हडप्ने धन्दाबारे खुल्न आएको छ ।

जिल्लाको खडक नगरपालिका–७ का परमानन्दका भाई बोदे बरसाईन नगरपालिका–५ का राधेश्याम भगत ‘राधा’ र भतिजो रामचन्द्र भगतले ऋणीको जग्गा हडप्न धन्दा नै फैलाएको पीडितहरु बताउँछन् ।

‘सुन र चाँदी तथा जग्गा पास गरेर ०७३ सालमा राधा भगतसँग ४ लाख र अढाई लाख गरी कुल साढे ६ लाख रुपैयाँ ऋण लिएको थिए, पटक पटक गरी अहिलेसम्म २० लाख १२ हजार रुपैयाँ तिरिसके तर जग्गा र पौने ३ भरी (तोला) सुन र १ किलो चाँदी भने फिर्ता गर्न मानेको छैन्’ जिल्लाको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका ६५ वर्षीय काशिलाल चौधरीले दुखेसो पोख्दै भने, ‘ऋण लिनुअघि खडकपुरस्थित ५ कठ्ठा जग्गा उस (परमानन्द–राधेश्याम) को भतिजो रामचन्द्र भगतको नाममा पास गर्न लगाएका थिए, ऋणको चर्को ब्याज पनि तिरे तर अझैं २० लाख रुपैयाँ बाँकी रहेको भन्छन् र जग्गा, सुन तथा चाँदी फिर्ता गर्दैनन् ।’

आफ्नो भएभरको जग्गा नै त्यति रहेको भन्दै चौधरीले जग्गा फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि नमानेका कारण मिटरब्याजीमा निवेदन दिएको बताए । ‘एक पटक छलफल पनि भयो तर मिलापत्र हुनुपर्नेमा रामचन्द्रले यो उमेरमा पनि तथानाम गाली गर्यो’ उनले भने, ‘पछि राधा भगतलाई एसपी अफिसमा छलफलका लागि प्रहरीले बोलायो, आउँदैछु भन्छन् पनि तर आउँदैन्, अब के गर्ने ? कसो गर्ने ? गरिबलाई कसले हेर्छ ?’

उनले आफ्नै पैसा राधेश्याममाथि नै गएको पनि दावी गरे । ‘मेरो हिसावले मेरै पैसा उमाथि गयो तर अरु २० लाख माग्दै दवाव दिन्छ, एक पटक त रामचन्द्र जबरजस्ती मोटरसाइकलमा चढाएर बरसाईन ल्यायो र घरमा थुनेर कागज बनाउँदै थियो तर मलाई हार्टको समस्या छ र म बेहोस् भएपछि छाडेको थियो’ चौधरीले भने, ‘फेरी परमानन्द भगतको ५ लाख रुपैयाँ लिएको उल्लेखित वडा कार्यालयबाट हुलाकमार्फत पत्र आएको थियो तर मैले परमानन्दसँग कुनै कारोबारै छैन र पैसा लिएको पनि छैन अनि कागज प्रमाणित किन गर्ने भनि वडा कार्यालय पुगेर जवाफ फर्काएपछि सामसुम भयो ।’

उनले न्याय पाउनमा सहयोग गरिदिन समद्ध सवै पक्षसँग आग्रह समेत गरे ।

अर्का पीडित सोही ठाउँका ५३ वर्षीय रामकुमार पंडितले पनि राधेश्यामसँग तीन पटक गरी २ लाख ८० हजार रुपैयाँ ऋण लिएको र ३ लाख ९० हजार रुपैयाँ फछ्र्यौट गर्दा पनि जग्गा फिर्ता नगरेको गुनासो गरे । ‘०७४ सालमा बुवा (धर्मलाल पंडित)ले लिएको ऋण चर्को ब्याजसहित फिर्ता गर्दा पनि धिँतो वापत रामचन्द्रको नाममा पास गरेको ७ कठ्ठा १४ धुर जग्गा फिर्ता गर्न चाहिरहेका छैनन्’ उनले भने, ‘अहिले जग्गा फिर्ता गर्न भन्दा १ लाख रुपैयाँ अझैं ब्याज बाँकी रहेको भन्छन्, बाध्य भएर मिटरब्याजीमा निवेदन पनि दिएको छु तर अहिले मेरो छलफलको पालो आइसकेको छैन् ।’

उनले केही समयअघि मात्रै परमानन्द भगतसँग ५ लाख रुपैयाँ लिएको भनि वडा कार्यालयबाट हुलाकमार्फत पत्र आएको हेरेपछि चकिंत तुल्याएको बताए । ‘मेरोमा पनि परमानन्द भगत नामको ५ लाख रुपैयाँको कागज प्रमाणित गर्न पत्र आएको थियो, जुन की सरासर गलत कुरा हो, मैले परमानन्दसँग एक रुपैयाँ पनि लिएको छैन, मेरो कारोबार राधा र रामचन्द्रसँग मात्रै छ’ उनले भने, ‘यतिसम्म काहीँ अन्याय हुन्छ ?, न्यायको लागि पहल गरिदिन सबैसँग आग्रह गर्दछु ।’

परमादेशपछि पक्राउ, विरामी भएर थुनामुक्त 

उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि पक्राउ परेका परमानन्द थुनामुक्त भएका छन् । गत फागुन २५ गते शुक्रवार पक्राउ परेका उनी विरामी भएपछि थुनामुक्त भएका हुन् ।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतलामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका ईन्सपेक्टर शुभेष अधिकारीले बताए । ‘उनमा निमोनिया, डायबिटिज र मुटु सम्बन्धी समस्या देखिएपछि सुरुमा ५ दिनसम्म प्रहरीकै निगरानीमा अस्पतालमा राख्यौं तर डिस्चार्ज नगरेपछि उनकै भाइ राधेश्यामको जिम्मा लगाएका छौं र डिस्चार्ज भएपछि पुनः कानूनी प्रक्रिया अघि बढ्छ’ ईस्पेक्टर अधिकारीले भने ।

तर, आर्थिक चलखेल भएपछि उनलाई थुनामुक्त गर्न अनाहकमा अस्पताल भर्ना गरिएको स्थानीय श्रोतको दावी छ । ‘थुनामुक्त गर्न कतिको आर्थिक चलखेल भयो र त्यसो गर्न कसले आइडिया दियो, त्यो पनि केही दिनमै स्पष्ट हुन्छ नै’ उनले भन्यो ।

उता, ईन्सपेक्टर अधिकारीले आर्थिक चलखेलको विषय जानकारी नरहेको बताउँदै आएका छन् ।

सो विषयमा बुझ्न खोज्दा राधेश्यामको …६१ र रामचन्द्रको …८५ नम्वरको मोवाइलमा पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क भएन ।

Author:



क्याटोगरी छान्‍नुहोस