डा. रणजीत र राजेशको उद्घोष ‘हाम्रो देश’

राजविराज–चिकित्सा सेवामा छुट्टै पहिचान बनाउन सफल चिकित्सक डा. रञ्जितकुमार झाले हालै ‘हाम्रो देश’ नामक देशभक्ति गीतको भिडियो सार्वजनिक गरेका छन् ।

देशकै चर्चित गायक राजेश पायल राई र डा. झाको स्वरवद्ध उक्त गीत नयाँ वर्षको शुभागमनसँगै श्रोता तथा दर्शकहरुमाझ ल्याएका हुन् । शब्द तथा सङ्गीत डा. झाकै रहेको छ । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको जाग्यो तराई बोल्यो मधेश आयो हिमाल पहाडको सन्देश, भन्दैछ कसरी हाँस्छ हाम्रो देश…बोलको उक्त गीत देशप्रतिको सम्मान, राष्ट्रिय एकता, समृद्धि, शान्ति, सद्भाव सहितका सन्देश दिएको छ । गीतको भिडियोमा रणजीत र राजेश आफैले अभिनय समेत गरेका छन् ।

राष्ट्र निर्माणमा एकतावद्ध भई विकास र समृद्धिको बाटोमा उच्च मनोबलका साथ जुट्न उर्जा प्रवाहित ‘हाम्रो देश’ राष्ट्रभक्तहरुलाई थप प्रोत्साहित गर्ने डा. झाको विश्वास रहेको छ । संसारकै सुन्दर तथा कहिल्यै कसैको परतन्त्र नरहेको हाम्रो देश नेपाल बनाउने अभियानमा आआफ्नो स्थानबाट जुट्न आह्वान गर्दै डा. झाले भने ‘जन्म दिने आमा र जन्मभूमि प्राण भन्दा प्यारो हुन्छ, मधेशको छोरो राजविराजमा सेवारत रहँदा डेढ वर्ष अघि गीतको शब्द फुर्यो, लिपिवद्ध गरेर साथी राजेशजीलाई सुनाएँ, सँगै गीत रेकर्ड गर्न हाम्रो सल्लाह भयो र देशवासीमाझ पस्किदियौं ।’

सप्तरीको राजविराज निवासी डा. हाल दोलखाको जिरी अस्पतालमा कार्यरत छन् । डा. झाले नेपाली तथा मैथिली भाषामा करिब तीन दर्जन भन्दा बढी गीतहरुमा स्वर भरिसकेका छन् । डा. झा काठमाण्डौ स्थित वीर अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह लगायतका अस्पतालहरुका साथै रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक समेत रहिसकेका छन् । उनी हाल दोलखाको जिरी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा रही सेवारत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस