बलान नदीलाई कमाई खाने भाँडो बनाएकाविरुद्ध जनप्रतिनिधिको ‘एक्सन’ 

राजविराज–जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीका कर्मचारीले स्थानीय उपभोक्ता समितिसँग मिलेर बलान नदीलाई कमाई खाने भाँडो बनाएको पाएपछि जनप्रतिनिधिले ‘एक्सन’ लिएको छ ।

यसअघि बलान नदी नियन्त्रणको नाममा एउटै ठाउँमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको विषयमा समाचार प्रकाशन भएपछि बलान बिहुल गाउँपालिका–१ का वडा अध्यक्ष रामकुमार यादवले सो उपभोक्ता समितिको कार्य रोक्का गर्न पत्राचार गरेका छन् ।

वडा कार्यालयले डिभिजन कार्यालयलाई गत चैत्र १८ गते चलानी नं.९५६ उल्लेखित काटेको पत्रमा वडा नम्वर १ मल्हनियाँस्थित गराएका/गराइरहेका उपभोक्ता समितिको कार्य रोक्का गर्न भनिएको छ ।

उक्त स्थानमा नदी नियन्त्रणको नाममा दुई वर्षयता मात्रै ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरिएपनि गत वर्ष पनि बाढीले बलान नदीको बाँध भत्काएको थियो । गत वर्ष मात्रै कार्यालयले नदी नियन्त्रण गर्न सो ठाउँमा उपभोक्ता समितिमार्फत २३ लाख ४९ हजार ३ सय ४५ रुपैयाँ खर्च गरेको थियो । कार्यालयले सोही गाउँपालिका वडा नम्वर १ बस्ने महेशकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) लाई सो ठाउँमा नदी नियन्त्रणको काम गराउने जिम्मेवारी दिएको थियो ।

कार्यालयले महेशमार्फत सो ठाउँमा काम गराएको पहिलो पटक भने होइन । त्यसअघि पनि आर्थिक वर्ष ०७८–०७९ मा सो ठाउँमा नदी नियन्त्रणको नाममा १० लाख ७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ । सो काम पनि महेशले नै गरेको कार्यालयको तथ्यांकले देखाउँछ ।

त्यति मात्रै होइन् । सोही वर्ष कार्यालयले महेशका आफ्नै दाजु कृष्णकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) मार्फत सोही ठाउँमा २१ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । कृष्णमार्फत पनि सोही ठाउँमा २१ लाख २ हजार ९ सय ३९ रुपैयाँ गरी दुई वर्षयता नदी नियन्त्रणको नाममा कुल ५४ लाख ५९ हजार ६ सय ५४ रुपैयाँ खर्च गरिएपनि काम भने बजेट सिध्याउनैका लागि मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् ।

डिभिजन प्रमुख रमणकुमार साहले बाढी आएको बेला आपत्तकालिन काममा सो रकम खर्च भएको बताउँदै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस