रुपनी गाउँपालिकामा राजस्व रकम वडा सचिवको खल्तीमा

राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका कर्मचारीले दाखिला गर्नुपर्ने राजस्व रकम आफैंसँग राखेको खुलेको छ । वडा सचिव वीरेन्द्र मेहताले नगदी र मालपोतबाट आम्दानी भएको झण्डै डेढ लाख रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नभएको पाइएको हो ।

‘मधेशलाइभ’लाई प्राप्त प्रमाणअनुसार गत वर्ष ०७९/०८० मा वडा नम्वर ४ मा नगदी र मालपोतबाट १ लाख ३७ हजार १४ रुपैयाँ आम्दानी भएको थियो । तर, वडा सचिव मेहताले वर्ष सकिएको महिनौं वित्दा पनि राजस्व दाखिला गराएन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २७ मा प्रचलित कानून बमोजिम प्राप्त हुने राजस्व सोही दिन र सो दिन सम्भव नभए सोको भोलिपल्ट बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था छ । र, उपदफा ४ बमोजिम ३ दिनभन्दा बढी ढिलो गरेमा १० प्रतिशत जरिवाना गरी असुल गर्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त विषयमा बुझ्न खोज्दा वडा सचिव मेहताको …५१ नम्वरको मोबाइल उठेन ।

उता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले उक्त विषय महालेखापरीक्षकको लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको पाइएपछि वडा सचिव मेहतालाई चिठ्ठी लेखेर उक्त राजस्व रकम जरिवानासहित वुझाउन लगाएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस