बारा–पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार शुक्रबार बिहान गस्तीमा रहेको सेनाको टोली र चोरी सिकारमा संलग्न समूहबीच निकुञ्जको ‘कोर एरिया’मा जम्काभेट हुँदा दोहोरो भिडन्त भएको थियो ।
सो भिडन्तमा सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दोहोरो भिडन्तको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन् ।
सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।