डाक्नेश्वरीमा जनप्रतिनिधि र कर्मचारी मिलेर लुट मच्चाएको भन्दै चार दल आन्दोलित

राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी मिलेर लुट मच्चाएको भन्दै चार दलले आन्दोलन सुरु गरेका छन् ।

शुक्रवार नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आवद्ध नेताहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखि १२ असारसम्म कार्यालयको मूल गेटमै धर्ना बस्नेछन् । उनीहरुले पत्रकार सम्मेलनमा १४ बुँदे माग समेत अघि सार्दै सो अवधिमा पनि सम्बोधन नगरिए दोस्रो चरणमा थप सशक्त आन्दोलन गर्ने नेपाली काँग्रेसका नगर सभापति नारायण यादवले जानकारी दिए ।

नगरपालिकाका जनप्रतिनिधिहरुको बेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए । ‘नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिकाभित्र व्यापक आर्थिक अनियमितता भएको छ’ उनले भने, ‘नगर प्रमुख रामलखन मलाहले नगरपालिकालाई आसेपासेका लागि भर्तिकेन्द्र बनाएका छन् र विभिन्न तहका कर्मचारी नियुक्तिमा पनि पैसा लिएका छन् ।’

संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।

त्यस्तै आर्थिक वर्ष ०७९/८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, ०७९/८० र ०८०/८१ मा खरिद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, ०८०/८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । त्यस्तै राजनितिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, भ्रष्ट कर्मचारी उमेश साहलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ ।

पत्रकार सम्मेलनमा जसपाका जसपा नगर समितिका अध्यक्ष लक्षण साह, बेचु साह, राजेश्वर राय, माओवादी केन्द्रका भुलाई राम, नेपाली काँग्रेसका भगवती प्रसाद यादव, लोसपाका नगर अध्यक्ष रामसागर मण्डल र वडा अध्यक्षहरु सत्रुधन मण्डल, भोगेन्द्र यादव र कुशेश्वर यादवको उपस्थिति रहेको थियो ।

यता, नगर प्रमुख मलाहले एक रुपैयाँ पनि अनियमितता नभएको दावी गरे । ‘विपक्षीहरुले अनाहकमा जालझेल गरिरहेका छन्’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार