सिरहाको भगवानपुर तस्करीको ‘हटस्पट’

रामशंकर भण्डारी
राजविराज, २ साउन–शान्ति सुरक्षा कायम गर्न सफल मानिएका नेपाल प्रहरी संगठन केही घुस्याहा प्रवृत्ति बोकेका प्रहरीले गर्दा समय–समयमा सम्पूर्ण प्रहरी संगठनलाई नै बदनाम गर्ने गरेको विषय नकार्न सकिदैन् ।

यस्तै प्रवृतिमा बोकेका एक पात्र हुन्, सिरहाको अस्थायी प्रहरी पोष्ट भगवानपुरका असई विजयकुमार खड्का । ठाढी नाका हुँदै भइरहेको तस्करीमा उनले सानादेखि ठुला व्यापारी र तस्करसँग मासिक रुपमै असुली गर्ने गरेको पाइएको छ ।

‘साना व्यापारीसँग मासिक ५ हजार र ठुलासँग ३५ हजार रुपैयाँ लिएर लाइन दिएका छन्, त्यसमाथि हवलदार संतोषकुमार साहले पनि १ देखि ५ हजार रुपैयाँ उठाउँदै आएका छन्’ कपडाको व्यापार गरेर दैनिकी चलाउँदै आएकी एक महिला व्यापारीले भनिन्, ‘पैसा नदिँदा समान नै जफत गर्ने गरेको र थुनिदिने धम्की समेत दिँदै आएको छ ।’

एक त महिनामा १२/१५ हजारसम्मको समान ल्याउँने गरेको बताउँदै उनले त्यसमाथि ५ हजार रुपैयाँ उनीहरुलाई नै तिर्नुपर्दा घाटा व्यहोर्नु परेको बताइन् । ‘कति नै नाफा हुन्छ र?, पेट चलाउने कुनै विकल्प नभएर भारतीय बजारबाट थोरथार कपडा ल्याएर यहाँका बजारमा विक्री गर्दै बालबच्चाको गुजारा चलाउदै आएकी छु तर यो असई खड्का र हवलदार साहले बडो दुःख दिँदै आएको छ’ उनले भनिन्, ‘हुन त मेरो काम पनि सही नहोला तर बालबच्चाको गुजारा कसरी चलाउने ?, सरकारको हामीमाथि ध्यान छैन्, भोकभोकै कतिदिनसम्म बाँच्न सकिन्छ ?’

बाध्य भएर प्रहरीविरुद्ध बोल्नु परेको उनले बताइन । ‘त्यति नाफा नै हुँदैन जति उनीहरुले मासिक तोकेको छ, ठुलो व्यापारीले त मासिक ३५ हजारसम्म तिर्छ तर म जस्ताले तिर्नसक्ने अवस्था छैन्’, उनले भनिन् ।

व्यापारीहरुका अनुसार जिल्लाको भगवानपुर गाउँपालिका–२ गम्हरिया चौक स्थित रहेको ब्रहम किराना पसलबाट दैनिक लाखौंको तस्करीका समान ओहरदोहर हुने गरेको छ । सो पसलका सञ्चालक विष्णु भगन र असई खड्काको मिलेमतोमा कारोबार हुँदै आएको उनीहरु बताउँछन् ।

‘दैनिक मदिरा टेम्पुमा लोड गरेर भारतीय सिमानासम्म र त्यहाँबाट त्यहि टेम्पोमा चामल, चिनी, किरानाका सरसमान ती पसलसम्म ल्याइन्छ’ स्थानीय अर्का व्यापारीले भने, ‘असई खड्का प्रतिदिन तस्करीबाट उठेको रकमको हरहिसाब मलान गर्न सो पसलमा साँझपख आउँछन् ।’

गत जेठमा सशस्त्र प्रहरीको विशेष अनुगमन टोलीले जिल्लाको लहान नगरपालिका–३ हस्पिटल चौकबाट ब्रहम किराना पसलकै टेम्पोमा लोड गरिएको ४५ बोरा चामल नियन्त्रणमा समेत लिएको थियो । ‘ती टेम्पो पनि अस्थाई प्रहरी पोस्ट भगवानपुरका प्रहरीले देखावटीका लागि चेकजाँच गरी पठाएको थियो तर हस्पिटल चौकसम्म पुग्दा अवैध ठहरियो र ती चामल र टेम्पो पछि राजविराजको भन्सार कार्यालयमा बुझाइयो’, उनले भने ।

हाल ठाढी, मरिकटोल, अभयनगर र इनर्वा हुँदै कपडा, ईलेक्ट्रोनिक पार्ट्स, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, चिनी, तेल, चामल, स्पेयर पार्टस्, कुखुरा र अण्डा लगायतका सरसमान भगवानपुरसम्म ल्याइने गरेको तथा ती सरसमान नै लहान पठाएर विक्री हुँदै आएको स्थानीयहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले त्यस्तो मिलेमतो गरेको पाइए कारबाही गर्ने बताए । ‘के कसो रैंछ म बुझ्दैछु, त्यस्तो गरेको पाइए कारबाही हुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस