प्रहरीमाथि यादवको गुनासो–झासँग मिलेर अनुसन्धानमा ढिलासुस्ती

राजविराज, ५ साउन–सप्तरी प्रहरीले आरोपीसँग मिलेर बैंकिङ कसुर सम्बन्धि मुद्दामा अनुसन्धान गर्न ढिलासुस्ती गरिरहेको सप्तरीको राजगढ गाउँपालिका–३ का श्यामनारायण यादवले गुनासो गरेका छन् ।

शनिवार नेपाल पत्रकार महासंघ, सप्तरीमा उनले पत्रकार सम्मेलन गर्दै न्यायका लागि पहल गरिदिन सबैमा आग्रह गरेका हुन् । ‘आफु वैदेशिक रोजगार (मलेसिया)बाट कमाएर आउँदा व्यापार गर्छु भनि आफ्नै छिमेकी विवेककुमार झाले २५ लाख रुपैयाँ ठगी गर्यो’ उनले भने, ‘०७७ सालमै सापटी भनेर लिएको रकम अझैंसम्म फिर्ता गरेको छैन्, फिर्ता माग्दा आज–भोलि गर्दा गर्दै यतिका वर्ष विताइहाल्यो ।’

पैसा माग्दामाग्दै हैरान भएपछि नदिएका कारण बाध्य भएर जमानत वापत दिएको चेक बाउन्स गर्नु परेको यादवले बताए । ‘मेरो पैसा लिएर विवेकले क्लिनिक चलाइरहेको छ, उनले दिएको चेक साट्न बैंकमा पुग्दा खातामा पैसा नरहेको बैंकबाट जवाफ आयो’ उनले भने, ‘मेरी २ जना छोरी छन् र उनीहरुको बिहे गर्ने बेला भएर मैले त्यो चेक पनि बाउन्स गराएर कानूनअनुसार अघि बढे तर अदालतबाट परमादेश हुँदा पनि प्रहरीले अनुसन्धान गर्न अनाकानी गर्दै आएको छ ।’

उनले त्यसअघि बैंकिंग कसुर सम्बन्धि मुद्दा लिएर प्रहरीमा जाँदा जाहेरी दर्ता नगरेको र पछि उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश गराउँदा मुद्दा दर्ता भएर पनि अनुसन्धानमा ढिलासुस्ती गर्दै आएको गुनासो गरे । ‘परमादेशपछि पटक पटक प्रहरीमा धाउदा मात्रै मुद्दा दर्ता गर्यो, गत असार १० गते मुद्दा दर्ता भएपछि उल्टै विवेकले पनि थर्काउदै आएको छ’ उनले भने, ‘विवेक जिल्ला प्रहरी कार्यालयमा कार लिएर जाँदा मुद्दा फाँटका सइ सर, इन्सपेक्टर र डिएसपी सरसँग हात मिलाउँछ, सँगै बसेर चिया खान्छ अनि अनुसन्धान गर्नुपर्नेमा उल्टै प्रहरीले अपराधीलाई संरक्षण दिइरहेका छन् ।’

विवेकले पनि प्रहरी मेरो मुठीमा छ र सबैलाई मिलाएकोले मलाई कसैले केही गर्न सक्दैन भनि आफुलाई थर्काउँदै आएको पत्रकार सम्मेलनमा यादवले बताए । ‘म साह्रै अन्यायमा परेको छु, विवेकलाई तत्काल पक्राउ गरी कानून अनुसारको प्रक्रियाअघि बढाउनमा सहयोग गरिदिन सबैमा आग्रह गर्दछु ।’, उनले भने ।

उता, विवेकले श्यामनारायण यादवसँग आफ्नो कुनै लेनदेन नरहेको बताए । ‘श्यामनारायण यादव जी अरुको बहकाउमा परेरमा आफुमाथि आरोप लगाइरहेका छन्, उहाँले बाउन्स गराएको चेक पनि ०७७ असोज ५ गते नै हराइसकेको छ’ उनले भने, ‘उहाँसँग मेरो कुनै लेनदेन छैन् ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानले परमादेशबाट आएको बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धान प्रक्रिया सकाएपछि पक्राउ गर्नकालागि अदालतसँग अनुमति माग्ने छौं’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार