जनकपुरधाम–सर्लाहीको ईश्वरपुर नगरपालिका–२, मियाँखोरस्थित पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो । महोत्तरीको गौशाला नगरपालिका–१० का ३८ वर्षीय कारका चालक सुरेश महतो र महोत्तरीकै सोनामा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेलापरेको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।
सर्लाहीको बयलवासबाट आज बिहान महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका–२, मियाँखोरस्थित पोखरीमा खसेर डुबेको थियो ।
बिहान करिब साढे ८ बजे दुवैजनाको शव पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवत्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रहरीका अनुसार, कारमा तीन जना सवार थिए । तीमध्ये दुईजना बेपत्ता भएका थिए । कारमा सवार अर्का व्यक्ति गौशाला–२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्किएका थिए ।