राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जितेको छ ।
मतगणनाको अन्तिम परिणामअनुसार डाक्नेश्वरी–१ मा धिरेन्द्रकुमार साह र वडा नम्बर ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । दुवै जना जसपा नेपालबाट निर्वाचित भएका हुन् ।
अघिल्लो निर्वाचनमा यो दुवै वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
साहले ६५२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार भूलिया देवी थरुनीले ५८७ मत ल्याएर दोस्रो भएकी छिन्।
नेकपा एमालेका भगवानी साहले २ सय ६५ मत मात्रै पाए ।
त्यसैगरी, वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित यादवले ३७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै जोगिन्द्र राय अमातले २७७ र जनमत पार्टीका उदयनारायण पण्डितले २३१ मत पाए ।