काठमाडौं–सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने ‘एफवान सफ्ट कम्पनी’को बैङ्क खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको घटनामा सप्तरी र सिरहाका गरी २४ जनाविरूद्ध मुद्दा दायर भएको छ ।
कम्पनीको सिटिजन्स् बैङ्कको खातामा रहेको रकम अनलाइन बैङ्किङ प्रणाली ह्याकिङ गरी पैसा चोरी भएको घटनामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार २४ जनालाई प्रतिवादी बनाएर जिल्ला मुद्दा दायर गरेको छ ।
अहिले ९ जना मात्रै प्रहरीको नियन्त्रणमा छन् । १५ जना फरार छन् । पक्राउ पर्नेमा सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत र सप्तरीकै ३१ वर्षीय सञ्जीव कुमार शर्मा, सिराहाका २० वर्षीय राहुल ठाकुर र सिरहाकै १९ वर्षीय पुरुषोत्तम साह, उदयपुरका कमल थापा मगर र उदयपुरकै दीपक थापा मगर, सुनसरीका २४ वर्षीय सन्देश राई र सुनसरीकै सागरकुमार साह तथा ललितपुरका ४० वर्षीय त्रिगुण रत्न बज्राचार्यलाई प्रतिवादी बनाइएको हो ।
एफ–वान इन्टरनेशनल प्रालि कम्पनीबाट कसैको जानकारीबिना गत अक्टोबर १ देखि अक्टोबर ४ सम्म पटक–पटक गरी ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ९० पैसा झिकिएको थियो ।
‘अनधिकृत’ रूपमा खाताबाट निकालिएको भन्दै गत असोज २० गते कम्पनीको तर्फबाट धिरजकुमार भुजेलले जाहेरी दिएका थिए । सरकारी वकिलको अभियोग पत्रमा कसरी अनधिकृत रूपमा पहुँच पुर्याएर रकम झिकिएको भन्ने खुलेको छैन ।
सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा एफ–वान इन्टरनेशनल प्रालि कम्पनीको खाताबाट विभिन्न व्यक्तिहरूको खातामा पैसा रकमान्तर भएको थियो । उनीहरूमाथि मुलुकी अपराधसंहिता २०७४ अनुसार ठगी गर्न नहुने कसुरमा सजायको मागदाबी गरेको छ ।