भारतीय सुरक्षाकर्मीको दादागिरी : शीतलहरमै घर भत्काइदिँदा दलित परिवारको विचल्ली

राजविराज, २३ पुस । भारतीय सुरक्षाकर्मीले घर भत्काइदिँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखी टोलका चार दलित परिवार विचल्लीमा परेका छन् ।

चार पुस्तादेखि करिब डेढ सय परिवार उक्त टोलमा बसोबास गर्दै आएका छन् । तर, दुई साताअघि डोजर लिएर नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीहरुले भिखनीदेवी सदाय (मुसहर), हकनीदेवी सदाय, विकन सदाय र जिवछ मरिक (डोम)को घर भत्काइदिँदा उनीहरु शीतलहरमै घरविहीन बनेका हुन् ।

‘खेतमा धान काट्दै थिए, दौड्दै आएका बच्चाले घर भत्काइरहेको कुरा सुनायो अनि हतार–हतार गरेर फर्किए तर तबसम्म भारतीय सुरक्षाकर्मीले जेसिभी लगाएर पूरै घर भत्काइसकेका थिए’ ५५ वर्षीया भिखनीदेवीले भनिन्, ‘जानकारी बिनै घर भत्काइदिँदा घरभित्रको अन्नपात पनि बर्बाद भइहाल्यो, अब यो शीतलहरमा बसोबास गर्न र गुजारा चलाउनै मुस्किल परेको छ ।’

६० वर्षीया हकनीदेवीले आफ्नै भूमिमा पनि भारतीय सुरक्षाकर्मीको दादागिरी सहेर बस्नुपर्ने बाध्य खेप्दै आएको दुखेसो गर्नुभएको छ । ‘पाँच वर्षमा तीन पटक घर भत्काइदिएको छ, पछिल्लो पटक पनि छापामार शैलीमा डोजर लिएर आएका सुरक्षाकर्मीहरुले घर भत्काइदियो, छाक टार्नै समस्या छ अनि फेरी घर कसरी बनाउने भन्ने चिन्ता थपिएको छ’ उनले भनिन्, ‘हामीलाई यहाँबाट उठिवास नै गराउने हो भने हाम्रो नेपालतिरका अधिकारीहरुले भन्नुपर्यो नि, यहाँ बसोबास गरेको चार पुस्ता भइसक्यो, अब बुढेसकालमा कहाँ जाने ?’

पटक पटक भारतीय सुरक्षाकर्मीले घरविहीन बनाइरहेकाले अर्को ठाउँमा पुर्नवासको व्यवस्थापनमा सहयोग गरिदिन उनले सबैसँग आग्रह गरिन । ‘उनीहरुले घर हटाउन धम्की दिएकै छन्, त्यो दिन त फोन गरेपछि तत्कालै आउनुभएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीज्यूले प्रतिकार गरेपछि अरु घर जोगियो तर हामीलाई प्रतिकार गर्ने हिम्मत छैन्’ उनले भनिन, ‘हामीलाई अर्कै ठाउँमा बसोबासको व्यवस्थापन मिलाइदिन सहयोग गरिदिनू ।’

४० वर्षीया अहिल्यादेवीले काल नआएसम्म मनसुखी टोलमै बसेर नेपाली भुमिको रक्षा गर्ने इच्छा हुँदाहुँदै पनि बारम्बारको धम्की र केही परिवारलाई घरविहीन बनाइदिँदा चिन्ता थपिएको बताइन । ‘हामी सुकुम्बासी हो’ उनले भनिन, ‘तर देशप्रतिको माया र नेपाली भूमि रक्षा गर्ने इच्छा छ ।’

गाउँपालिकाका अध्यक्ष चौधरीले दशजग्गामा रहेको तीन वटा घर भत्काएपछि आफुले जानकारी पाएको बताएका छन् । ‘ती घरहरु नो म्याइन्सल्याण्डमै छ र भत्काउनुपर्ने नै हो तर घर भत्काउँदा नेपाली पक्षसँग समन्वय नगर्नु दुर्भाग्य र दुखद् हो’ उनले भने, ‘मैले जानकारी पाएपछि त्यहाँ पुग्यौं र हाम्रो आक्रोश देखेर उहाँहरु पछि हटनुभयो ।’

उनले दशजग्गामा रहेका दलित बस्तीलाई स्थानान्तरण गर्न बजेट विनियोजन भइसकेको भन्दै यही वर्ष प्रक्रिया अघि बढाउने बताए ।

यता, प्रमुख जिल्ला अधिकारी भोला दाहालले ती विषयमा बुझ्न लागेको बताएका छन् । ‘के भएको रैंछ, हामी बुझ्दैछौं ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780