राजविराज–सप्तरीको राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविनले सडक विस्तारका लागि संरचना भत्काउन काखापाखा गर्ने गरेकी भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।
शनिबार वडा नम्बर ३ स्थित स्थानीयहरुले पत्रकार सम्मेलन गर्दै निष्पक्ष र स्वच्छ ढंगले संरचना भत्काउने कार्य हुनुपर्ने बताएका हुन् । ‘सडक विस्तार कार्य हुनुपर्छ र गर्नु पनि जरुरी छ तर मुख हेरेर संरचना भत्काउने कार्य हुनु भएन’ स्थानीय कली मुज्जमा खाँ (कलिम खान)ले भने, ‘नगरपालिकाले सानो भलुवाहीदेखि ठुलो भलुवाही नदीसम्म ७ मिटर सडक फराकिलो गर्न सूचना टाँस गर्यो र डोजर खटाएर बिचबाटै मनोमानी ढंगले घर र पर्खाल भत्काउन सुरु गर्यो ।’
मनोमानी ढंगले संरचना भत्काउँदा उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेशसम्म अवहेलना गरेको उनले बताए । ‘नापजाँचकै बेलादेखि काखापाखा सुरु गरेपछि बाध्य भएर अदालतसम्म पुग्नुपर्यो, अदालतबाट पनि छलफल नभएसम्म पर्खाल नभत्काउनु भनि आदेश जारी भएको र सो आदेशको प्रतिलिपी पर्खालमै ठुलो ब्यानर बनाएर लगाएका थिए तर कार्यवाहक मेयरज्यूले नै त्यो आदेशको प्रतिलिपीलाई पनि च्यात्नु भयो’ उनले भने, ‘र, डोजर चालकलाई पर्खाल भत्काउन निर्देशन दिनुभयो, सो क्रममा आफ्नी श्रीमतिलाई डोजरले टाउकोमा चोट पनि लागेको छ ।’
कार्यवाहक मेयर प्रविनले अदालतबाट जारी भएको आदेशको पनि अवहेलना गरी आक्रमक ढंगले प्रस्तुत भइरहेकोले न्याय गुहार्न बाध्य भएको खान बताउँछन् । ‘जनप्रतिनिधि सबै जनताको बराबर हुनुपर्छ तर सडक विस्तार गर्दा संरचना भत्काउन काखापाखा किन?’, उनले प्रश्न समेत गरे ।
अर्का स्थानीय दिपेन्द्र कुमार साहले जनप्रतिनिधि नै विकासको बाधक रहेको आरोप लगाएका छन् । ‘विकास हुनुपर्छ तर त्यसमा कसैको व्यक्तिगत स्वार्थ बाझिनु भएन, यहाँ सडक विस्तार गर्दा जनप्रतिनिधिको स्वार्थ स्पष्ट हुन्छ’ उनले भने, ‘सडक विस्तारका नाममा जनप्रतिनिधिका आफन्तको कम र सर्वसाधारण जनताको बढी संरचना पार्ने गरेका छन् अनि कसरी हुन्छ विकास ।’
उनले एउटै घर पटक पटक नापजाँच गरेर मार्किङ गरेको भन्दै पटक पटक घर भत्काउँदा सास्ती हुने गरेको दुखेसो गरे । ‘एक पटक आएर मेरो घरमा मार्किङ गर्नुभयो र फेरी अर्को दिन आएर थपेर मार्किङ गरेर भत्काइयो’ उनले भने, ‘एउटै घर कति पटक भत्काउने ? यो विकास गर्न खोजेको हो की दुःख दिन खोजेको हो ?’
अर्का फुर्खान खानले ठुलो भलुवाहीस्थित नगरपालिकाकै कर्मचारीको घर परेकोले बिचबाटै संरचनाहरु भत्काउन सुरु गरेको बताए । ‘विकास चाहेको भए त्यहीँबाट निष्पक्ष ढंगले संरचना भत्काउनुपर्ने थियो तर होइन यहाँ त सर्वसाधारणलाई पावर देखाउनु थियो’ उनले भने, ‘जनप्रतिनिधि भएर पनि अदालतको आदेशसम्म नमान्नुले सबै छर्लङ हुन्छ ।’
उता, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर प्रविनले अदालतको आदेशबारे जानकारी नरहेको बताउँदै आएकी छन् । तर, उनले नै अदालतबाट जारी भएको आदेशको प्रतिलिपी च्यातेको भिडियो सामाजिक सञ्जालमै छ्यापछ्यापी भएको छ ।
यो पनिः