दमक–पाथीभरामा केबलकार निर्माणको विरोधको क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुणपूर्वका ९ जिल्लामा आइतबार र सोमबार गरी दुई दिने बन्दको आह्वान गरेको छ ।
आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन नेतृत्वको समूहसँग प्रहरीको झडप भएको हो ।
त्यसपछि प्रहरीले अश्रुग्यासको सेल हानेको छ । प्रदर्शनकारीले ढुंगा हान्दा मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही गाडी फुटेका छन् ।
झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास हानेको छ । झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
पक्राउ पर्नेमा पदम बेघासहित छन् । आइतबार साढे ५ बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ मा बन्दकर्ताले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अहिले अवरोध हटाएर यातायात सुचारु भइसकेका चन्दले बताए ।