रामशंकर भण्डारी
राजविराज, ३० माघ । एक करोडभन्दा बढीको लगानीमा सप्तरीको रुपनी गाउँपालिकामा निर्माण भएको सामूदायिक भवन हस्तान्तरण नहुँदै जिर्ण बनेको पाइएको छ ।
जिल्लाको क्षेत्र नम्वर ३ (क) का प्रदेश सासद मो.समिमको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट वडा नम्बर ६ दुधैलास्थित ०७५–०७६ सालमै उक्त सामूदायिक भवन कार्य सुरु गराइएको थियो ।
सुरुको वर्षमा ५० लाख रुपैयाँ खर्चिदा पनि भवन अधुरो रहेको भन्दै पूर्व गृह, कानून तथा सञ्चारमन्त्री समेत रहेका मो.समिमकै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ०७६–०७७ मा पनि २५ लाख रुपैयाँ लगानी लगाइयो । तर, भवन निर्माण कार्य भने अझैं पूरा भएन ।
कर्मचारी स्रोतका अनुसार ०७८–०७९ र ०७९–०८० मा पनि १०–१० लाख गरी मो.समिमकै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कुल एक करोड ५ लाख रुपैयाँ उक्त भवन निर्माणका लागि खर्चिएको छ । तर, भवन भने अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन् ।
‘यहाँ अन्धाधुन्ध बजेट खर्चियो तर अहिलेसम्म भवन प्रयोगमा आउन सकेको छैन्, जबकी दुई पटकसम्म पेन्टिङ पनि गरियो, किन र केका लागि बुझ्नै मुस्किल छ’ उक्त भवन छेउमै घर रहेको कुलानन्द चौधरीले भने, ‘अब त भवनै जिर्ण बन्दै गएको छ । भर्याङमाथिको जस्ता पनि उडेको छ भने छतमा चिरा परेर चुहिन थालेको छ ।’
उनले राज्यको लगानी त्यस्तै खेर गइरहेकोले यसलाई सञ्चालनमा पहल गरिदिन आग्रह समेत गरे ।
वडा अध्यक्ष बद्रीनारायण सरदारले उक्त भवन वडालाई हस्तान्तरण गर्न अनाकानी गर्दै आएको बताए । ‘पटक पटक हस्तान्तरण गर्न आग्रह गर्दै आएको छु तर उद्घाटन गर्न मन्त्रीहरुलाई बोलाउनुपर्छ र त्यसका लागि वडालाई खर्च तिर्न भनिरहेका छन’ उनले भने, ‘तर, वडामा पैसै छैन्, कार्यक्रम गर्न पालिकालाई थोरै खर्च मिलाइ दिन आग्रह गरेको छु । त्यहीबाट आयो भने उद्घाटनमा आउनुहुने सांसद र मन्त्रीज्यूहरुका लागि खर्च गरौंला ।’
तर, अहिलेसम्म पालिकाबाट खर्च नपाउँदा कार्यक्रम गर्न नसकेको वडा सरदार बताउँछन् ।
पूर्वाधार विकास कार्यालय सप्तरीका सूचना अधिकारी तपेश्वरकुमार साहले ती भवनबारे थप बुझेर प्रतिक्रिया दिने बताए । ‘उक्त भवन तत्कालिन सिरहास्थितको कार्यालयले निर्माण गराएको थियो, त्यहाँबाट यस जिल्लाका केही तथ्यांकहरु आएको पनि छ तर ती भवनबारे थप बुझ्नैछ’ उनले भने, ‘बुझेर मात्र केही भन्नसक्छु ।’
उता, पूर्वाधार विकास कार्यालय सिरहामा सम्पर्क गर्दा फोन उठेन ।