काठमाडौं, चैत १२ : सत्तारूढ दलहरू संसदमा विचाराधीन विधेयकहरू छिट्टै टुंगो लगाउने निर्णयमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकमा संसदमा विचाराधीन विधेयकहरू छिट्टै अगाडि बढाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राससलाई जानकारी दिनुभयो।
बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति सहित समसामयिक विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।