झापा, वैशाख २८ । कोशी प्रदेशमा क्षयरोग (टीबी) संक्रमितको पहिचानका लागि कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग युक्त आधुनिक एक्स–रे उपकरणको प्रयोग सुरू गरिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका सम्पर्क व्यक्ति तुलसीप्रसाद गुरागाईंका अनुसार एआई प्रविधिमार्फत रोग पहिचानको काम प्रभावकारी रूपमा अघि बढिरहेका छन् । प्रदेशका १० जिल्लामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार जनाको परीक्षण गर्दा १०० जना नयाँ टीबी संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा अत्याधुनिक एआई जडित एक्स–रे मेसिन उपलब्ध गराएको छ। ती उपकरण पालिकाहरूमा पठाएर क्षयरोगको खोजबिन तीव्र बनाइएको गुरागाईंले बताउनुभयो। सरकारले देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित पुराना बिरामीको उपचार र नयाँ संक्रमितको पहिचानमा विशेष ध्यान दिइरहेको छ। वडास्तरमा आयोजित निःशुल्क शिविरमा ६० वर्षभन्दा माथिका सबै नागरिकको अनिवार्यरूपमा एआई एक्स–रेद्वारा परीक्षण भइरहेको छ।
यस्तै, ती घरका १५ वर्षमाथिका सदस्य, जहाँ क्षयरोगका बिरामी छन्, वा खोकीजस्ता लक्षण देखिएका छन्, तिनको पनि परीक्षण गरिँदैछ। एआई एक्स–रे उपकरणसँगै दक्ष रेडियोलोजिस्टको टोली पनि पालिकाहरूमा पठाइएको छ। “एआई प्रविधिद्वारा रोग स्पष्ट देखिन्छ र संभावित संक्रमितको पहिचान गर्न सजिलो हुन्छ,” गुरागाईंले भने “यस प्रविधिले एक दिनमा करिब ३०० जनाको परीक्षण गर्न सकिने क्षमता राख्छ।”
परीक्षणमा नयाँ संक्रमित भेटिएमा शिविरमै औषधि वितरण गरिन्छ भने शङ्कास्पद संक्रमितलाई थप परीक्षणका लागि अस्पताल पठाइन्छ। झापाको मेचीनगर, कचनकवल, झापा गाउँपालिका, दमक र गौरादह नगरपालिकामा हाल निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा छन्।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले वडा नं ४ मा पहिलोपटक एआई एक्स–रे प्रविधिको प्रयोग गरिएको जानकारी दिइन्। उनका अनुसार, शिविरमा २३० जनाको परीक्षण गर्दा ६ जना नयाँ टीबी संक्रमित र २५ जना शङ्कास्पद संक्रमित पहिचान भएका छन्।