धुवाँरहित पालिका बनाउन विष्णुपुरमा ग्यास चुलो वितरण

दीपा यादव/आरके यादव (प्रशिक्षार्थी पत्रकार)
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का एक सय २० परिवारलाई सोमबार ग्यास चुलो वितरण गरिएको छ ।

धुवाँ रहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण गरिएको हो । गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले वडा नम्बर ५ का एक सय २० परिवारलाई ग्यास चुलो वितरण गरेका छन् ।
ग्यास चुलो वितरण गर्दै अध्यक्ष यादवले धुवाँमुक्त पालिका बनाउने नीति अनुसार गरिव तथा विपन्न परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको बताए । यसले घर परिवारलाई धुवाँमुक्त बनाउने, स्वास्थ्यमा सुधार ल्याउने र दाउराको प्रयोग कम हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । उनले यो कार्यक्रम निरन्तर जारी राख्ने प्रतिवद्धता समेत जनाए ।

पालिका भित्रका सबै गरिव विपन्न परिवारलाई ग्यास चुलो उपलब्ध गराईने बताउँदै वडा नम्बर १ मा २७९, वडा नम्बर २ मा २१९, वडा नम्बर ३ मा १३९, वडा नम्बर ४ मा २२३, वडा नम्बर ५ मा २३०, वडा नम्बर ६ मा २३० र वडा नम्बर ७ मा २१९ परिवार गरि कूल एक हजार पाँच सय ३९ परिवारलाई ग्यास चुलो वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए ।

उनले आगामी आर्थिक बर्षमा महिला सशक्तिकरण योजना अन्तर्गत ग्यास सिलिण्डर पनि वितरण गरिने प्रतिवद्धता जनाए । ग्यास चुलो पाएपछि खुशी व्यक्त गर्दै स्थानियहरुले अव खाना पकाउनमा समय कम लाग्ने, दाउराको प्रयोग घट्ने र स्वच्छ उर्जाको प्रयोग हुनुका साथै स्वस्थ्य जिवन शैलीको शुरुवात पनि हुने बताएका छन् ।

पालिकाको सानो सहयोगले महिलाको अवस्थामा सुधार आउनुका साथै धुवाँमुक्त समाज बनाउनमा ठुलो सहयोग पुगेको स्थानिय अनिता देवी साहको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस