महोत्तरी, २६ असार । महोत्तरी जिल्लास्थित ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुखसहित तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
उनीहरूमाथि गम्भीर प्रकृतिका अनियमितता र भ्रष्टाचारसम्बन्धी आरोप लागेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई हालको जिम्मेवारीबाट हटाएर मधेश प्रदेश प्रहरीको जनकपुरस्थित गणमा राखिएको छ ।
उनीहरूमाथि व्यापारीहरूसँग मासिक रूपमा जबर्जस्ती रकम असुली गर्ने, चेक अनादरसम्बन्धी मुद्दामा संलग्न आरोपीबाट आर्थिक लाभ लिने तथा कार्यालय परिसरमै विचौलियामार्फत छलफल गरी अवैध रकम संकलन कार्यमा संलग्न भएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार, ती तीनै जना प्रहरीलाई प्रारम्भिक अनुसन्धानपछि प्रदेश कार्यालयमा बोलाइएको हो । प्रहरी निरीक्षक भण्डारीले प्रहरी जवान महतो र विश्वकर्मालाई घुमुवाको रूपमा परिचालन गरी अनैतिक कार्यमा संलग्न गराएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
धिरज महतो र अर्जुन विश्वकर्मा दुवै जना लामो समयदेखि गौशालामा कार्यरत थिए भने उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत सादा पोशाकका केही प्रहरीहरूले संरक्षण दिएको खुलेको छ । यस्तै, सादा पोसाकमा कार्यरत केही प्रहरी कर्मचारीहरू पाँच वर्षभन्दा बढी समयदेखि एउटै ठाउँमा कार्यरत भए पनि सरुवा भएर जान मानेका छैनन्, जसले संगठनभित्रको स्वच्छता र पारदर्शितामा प्रश्न उठाएको छ ।
यस घटनाले प्रहरी सङ्गठनभित्रको अनुशासन, पारदर्शिता र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले विस्तृत अनुसन्धानपछि आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाउने जनाएको छ । News credit: Indrabhushan Yadav