राजविराज, ४ साउन। सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पछवारी टोलबाट प्रहरीले झण्डै चार क्विन्टल गाँजा बरामद गर्दै एक महिलालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा आइतबार बिहान प्रहरी चौकी झुटकीका बरिष्ठ सई हरिशबहादुर चन्द र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) बनैनियाँका निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजा फेला पारेको हो।
टोलीले ४० वर्षीया रेखाकुमारी मण्डलको घरमा छापा मारेको थियो। खोजतलासका क्रममा मण्डलको घरको निर्माणाधीन शौचालय र पछाडिको बाँसघारीमा लुकाएर राखिएको ३८८.७३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजासहित मण्डललाई नियन्त्रणमा लिइएको छ र उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतमकुमार केसीले घटनाको पुष्टि गर्दै बरामद लागुऔषधको परिमाण यकिन गर्न प्रक्रिया जारी रहेको जानकारी दिए।