काठमाडौं , २५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल र डेनमार्कका सोसलिस्ट पार्टीका प्रतिनिधिहरूबीच सोमबार पार्टी मुख्यालय बालकुमारीमा नेपालमा महिला अधिकार, न्यायोचित प्रतिनिधित्व र सशक्तीकरणबारे महत्त्वपूर्ण छलफल तथा भेटघाट भएको छ।
भेटघाटमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सचिव एवं पूर्वमन्त्री सुरेश मण्डल, कार्यकारिणी समिति सदस्य तथा समाजवादी महिला संघ नेपालकी केन्द्रीय अध्यक्ष निर्मला यादव, विदेश विभाग प्रमुख अर्जुन थापा लगायतका नेताहरू उपस्थित थिए।
डेनमार्कबाट आएका सोसलिस्ट पार्टीका प्रतिनिधिहरूसँगको उक्त छलफलमा नेपालमा महिलाको राजनीतिक सहभागिता, लैङ्गिक समानता, नीति निर्माणमा महिलाको भूमिकाको सुनिश्चितता तथा अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानबारे कुराकानी भएको जसपाले जनाएको छ।
पार्टीका नेताहरूले महिला अधिकार र सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझेदारी महत्त्वपूर्ण हुनेमा जोड दिएका छन्।