पत्रकार वैद्यनाथ यादवमाथि आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार महासंघकाे माग

राजविराज, २६ साउन । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले एभिन्युज टेलिभिजन मधेस प्रदेशका विशेष संवाददाता तथा महासंघ सप्तरीका सल्लाहकार वैद्यनाथ यादवमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले आइतबार जारी प्रेस विज्ञप्तिमा राजविराजको दशन चौकमा बुधबार साँझ समाचार सम्प्रेषणका क्रममा पत्रकार यादवमाथि आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “राजगढ घटनाको आन्दोलन प्रत्यक्ष प्रसारण गरिरहेको बेला एक समूहले आफूमाथि आक्रमण गरेको जानकारी पत्रकार यादवबाट प्राप्त भएको छ। सञ्चारकर्मीमाथि हुने कुनै पनि आक्रमण प्रेस स्वतन्त्रता मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात हो।”

महासंघले पछिल्ला दिनमा सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढिरहेको भन्दै संयमित भई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न तथा महासंघको गरिमा कायम राख्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेको छ।

यसअघि प्रेस मञ्च नेपाल संघीय समितिका कार्यवाहक अध्यक्ष मनोज कुमार यादवले समेत प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । पत्रकारहरूलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दै सञ्चार क्षेत्रका सरोकारवालालाई आवश्यक कदम चाल्न समेत आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस