‘कत छै सरकार, कत छै ठिकेदार ?’

राजविराज, २६ साउन । राजविराज–सखडा–गोविन्दपुर सडक निर्माण कार्य अविलम्ब सम्पन्न गर्न मा गर्दै सोमबार सखडाबाट पैदलयात्रा निकालिएको छ ।

नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा आयोजित पैदल मार्च  नाराबाजी गर्दै विसनपुर चौकमा पुगेर सम्पन्न भएको हो । दवाब सिर्जना गर्न निकालिएकाे मार्चका  सहभागीहरूले ‘कत छै सरकार, कत छै ठिकेदार ? सुशासन कायम कर, कुशासन बन्द कर, राजविराज सखडा न्यौरतकके सडक निर्माण कर, प्रधानमन्त्रीजी सुशासन देखैला सखडा आउ’ जस्ता नाराहरु लगाएका छन् ।

लामो समयदेखि सडक जर्जर अवस्थामा रहे पनि निर्माण कार्य सुस्त गतिमा भइरहेकोले सर्वसाधारणलाई आवागमनमा सास्ती झेल्नु परेको छ । आफुहरुको समस्यालाई अविलम्ब सम्बोधन नगरे सम्वन्धित निकायहरु घेराउ गर्ने पैदलयात्राका सहभागीहरुले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयवासीले दैनिक यातायात अवरोध, आवतजावतमा कठिनाइ र आर्थिक गतिविधिमा परेको असरका कारण सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । वर्षायाममा हिलाम्मय अनि टुटफुट भएको बाटोमा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीसम्म आवतजावत गर्न श्रद्धालु भक्तजनलाई पनि समस्या झेल्नुपरेको छ ।

सडक निर्माण एवम् तत्काल मरम्मत सम्भार नहुँदा एम्बुलेन्स, सिटी रिक्सा आवतजावतमा जोखिम मोल्नुपरेको छ । यसका साथै कलिलो उमेरका विद्यार्थीहरुलाई विद्यालय जान आउन समस्या झेल्नुपरेको पीडितहरुले गुनासो गरेका छन् ।

पैदलयात्राका नेतृत्वकर्ता पूर्वमन्त्री यादवले सडक निर्माणको लागि पटक–पटक आवाज उठाए पनि सम्बोधन नभएकाले बाध्य भएर दबाब स्वरूप पैदलयात्रा गरिएको जानकारी दिएका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस