दुर्घटनामा मृत्यु भएका चार मध्ये दुई जनाको सनाखत

राजविराज, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र विंगर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ ।
प्रहरीका अनुसार काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ गइरहेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर जमुवा टोल नजिक ठोक्किएको हो । मृत्यु भएकाहरुमध्ये सप्तरीको महादेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा रहेको खुलेको छ । यसैगरी, अन्दाजी ४० वर्षकी एक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा १० जना सप्तरीका रहेका छन् । महादेवा गाउँपालिका–६ का रबिन्द्र प्रसाद मण्डल र रविन्द्र मेहता, तिरहुत गाउँपालिका–३ गोइठीका ६८ वर्षीय जिवछ महात्मान, राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय, राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, राजविराज–०२ का २४ वर्षीय भोला यादव र ३५ वर्षीय प्रदीप यादव रहेका छन् ।

दुर्घटनामा विंगरका सहचालक राजविराज–०४ का २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका–३ की ३० वर्षीया अमृता राय, तथा तिलाठी–कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय रवि राय पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइतेहरूको पायक पर्ने अस्पतालहरुमा उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस