काठमाण्डौ, ३१ साउन । नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता सौरभ यादवमाथिको आक्रमण र काठमाण्डौ स्थित अर्थिक न्युज डटकमका कार्यकारी सम्पादक इन्द्र बानियालाई ज्यान मार्ने धम्की दिएकोप्रति मिडिया एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिडिया एक्सन नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक लक्ष्मण दत्त पन्तले शनिवार वक्तव्य जारी गर्दै दुवै घटनाप्रति चिन्ता व्यक्त गर्दै कडा शब्दमा निन्दा गरेका छन् । मधेश प्रदेशका मिडिया एक्शन नेपालका समन्वयकर्ता हदिस खुद्दारका अनुसार, यादवले शनिवार बिहान १०ः४२ बजे राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि तीनजनाको समूहले उनलाई चक्कु, बेल्ट र हेल्मेटले आक्रमण गरेको हो ।
टाउको र शरीरमा चोट लागेको यादव हाल गजेन्द्र नारायण सिंह अस्पतालमा उपचाररत छन् । आफु गेटअगाडि आफ्ना साथीहरूसँग कुरा गरिरहेको अवस्थामा छिन्नमस्ता गाउँपालिका–१ का कृष्णनाथ यादव (क्याप्टेन), राजविराज–११ का राजु यादव र बिष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले अचानक आक्रमण गरेको खुद्दारले पीडित यादवको हवाला दिँदै वक्तव्यमा उल्लेख गरिएको छ । घटनामा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक जना आक्रमणकारीलाई पहिचान भइसकेको तथा उनीहरूको खोजी भइरहेको जनाइएको छ ।
यसैगरी काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरका एक कर्मचारीले आर्थिक समाचार प्रकाशित गर्ने अर्थिक न्युज डटकम का कार्यकारी सम्पादक इन्द्र बानियामाथि ज्यान मार्ने धम्की दिएको उल्लेख छ । समाचारले सेन्टरमा व्यापक वित्तीय र प्रशासनिक अनियमितताहरू उजागर गरेको १४ विहीबार समाचार प्रकाशनपछि उक्त धक्की आएको थियो । बानियाँले मिडिया एक्शन नेपाललाई जानकारी दिंदै बताए अनुसार केन्द्रका महिला कर्मचारीले १५ शुक्रवार साँझ ६ः२६ बजे फोन गरेर हातखुट्टा भाँचेर ज्यान मार्ने धम्की दिएका थिए ।
मिडिया एक्शन नेपालले पत्रकार यादवमाथि भएको शारीरिक आक्रमण र सम्पादक बानियामाथि जारी मृत्यु धम्की दुवै प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला भएको बताएका छन् । संस्थापक एवं कार्यकारी निर्देशक लक्ष्मण दत्त पन्तले भनेका छन् ‘यस्ता प्रेस स्वतन्त्रता विरोधी कार्यहरू लोकतान्त्रिक समाजमा सह्य हुन सक्दैनन्, प्रकाशित समाचारप्रति कसैसँग आपत्ति भए कानुनी बाटो अपनाउनु पर्छ; हिंसाजन्य कुनै पनि गतिविधि स्वीकार गर्न सकिदैन ।’