राजविराज, भदौ २ गते । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितलाई छानबिन अघि बढाउन परमादेश दिएपछि सप्तरीमा नेता–कार्यकर्ता आक्रोशित बनेका छन् ।
सोमबार साँझ उनीहरुले राजविराजको गजेन्द्र चोकमा टायर बाल्दै प्रदर्शन गरेका हुन् ।जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले सरकारलाई भूमि सम्बन्धी अध्यादेश पारित गराउन समर्थन नदिएपछि पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको आरोप लगाए ।
“यो अध्यादेश देश र जनताको हितमा नभई रियल स्टेट, भू–माफिया तथा दलालहरूको हितमा आएको हो,” उनले भने, “मधेशको वनजंगल र सार्वजनिक जमिन आफ्ना कार्यकर्तामा बाँड्ने उद्देश्य बोकेर सरकारले ल्याएको अध्यादेशमा हामीले साथ नदिँदा अध्यक्षलाई फसाउन गौरकाण्ड अगाडि सारिएको हो ।”
यादवले तत्कालै यो कदम नसच्याइए शक्तिशाली आन्दोलन गर्ने चेतावनीसमेत दिए । “यो त केवल सुरुवात हो, हामीलाई कमजोर नठानियोस्,” उनले भने ।
२०६३ साल चैत ७ गते गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।