विद्यार्थीले महेन्द्र विन्देश्वरी क्याम्पसमा तालाबन्दी, कर्मचारी थुनिए

राजविराज, १३ भदाै । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षको नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नभएको भन्दै विद्यार्थीले शुक्रबार शिक्षा शास्त्र संकाय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

बिहीबार प्रकाशित नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाइएपछि उनीहरू आक्रोशित बनेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) राजविराज क्याम्पसका अध्यक्ष रञ्जितकुमार यादवका अनुसार शिक्षा शास्त्र संकाय प्रमुख रामअषिश यादव र परीक्षा शाखा प्रमुख चन्देश्वर यादवको स्वार्थ नपुगेकाले अंक समावेश नगरिएको हो ।

विद्यार्थीहरूले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउँदै प्रयोगात्मक अंक समावेश नगरिएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् । तालाबन्दीका कारण परीक्षा शाखाका कर्मचारीभित्रै थुनिएका छन् भने विद्यार्थीहरू शाखा अगाडि धर्नामा बसेका छन् ।

क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले भने प्रयोगात्मक परीक्षाको अंक समावेश गर्नका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए । बीएड चौथो वर्षको परीक्षामा १३० जना विद्यार्थी सहभागी भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस