वीरगञ्ज, १४ भदौ । वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणबारे खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत प्रश्न गरेका कारण एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रका अनुसार वीरगञ्ज–मुर्लीकी स्थानीय किरण साहलाई शनिबार पक्राउ गरिएको हो। खानेपानी मन्त्रालयको सचिवालयले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको मिश्रले जानकारी दिए। साहमाथि साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार राति सामाजिक सञ्जालमा मन्त्री यादव र साहबीचको अडियो संवाद सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। अडियोमा साहले हैजा नियन्त्रणमा सरकारको कमजोरीप्रति आक्रोश व्यक्त गर्दै मन्त्रीलाई पटक–पटक प्रश्न गरिरहेकी छन्।
साहले सुरुवातमै मन्त्रीलाई “अपने फोन काहे नइखी उठावत?” भन्दै किन फोन नउठाएको प्रश्न गरेकी छन्। त्यसपछि उनले वीरगञ्जमा फैलिएको हैजाले कति जनाको मृत्यु भयो, पानी परीक्षण गरेर मात्र वितरण गरिएको हो कि होइन भन्ने प्रश्न लगाताका गुनासो राखेकी थिइन्।
उनले अडियोमा भनेकी छन्– “वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो? तपाईँहरूले पानी वितरण गर्दा जाँच गर्नुभयो? अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन्। मेरै घरको मान्छे आईसीयूमा छ। म तपाईंलाई छोड्दिन, डर लाग्दैन।”
यस घटनाले सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तिहरूले व्यापक प्रतिक्रिया जनाएका छन् । केहीले मन्त्रीलाई कठोर प्रश्न सोध्ने नागरिकमाथि कारबाही गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेका छन् भने अन्य पक्षले मन्त्रीलाई धम्की दिने शैली उचित नभएको तर्क गरेका छन्।