राजविराज । मधेश प्रदेशका दुई फरक विधाका चर्चित श्रष्टा बेलायत र भारतमा सम्मानित हुने भएका छन् ।
साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी धनुषाको जनकपुरधामकी विजेता कर्ण चौधरी र सप्तरीको बिरपुर निवासी लोकगायक सुभाष बिरपुरिया (सुभाष प्रसाद यादव) सम्मानित हुने भएको हो । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले युवा पत्रकार तथा लेखक बिजेता चौधरीलाई ‘प्रतिभा पुरस्कार– २०२५’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । उनलाई नगद एक लाख राशि र ताम्रपत्र प्रदान गरिनेछ ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मिएकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदैआएकी छिन् । ४४ वर्षीया चौधरीले आरआर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्ययन पूरा गरेकी छिन् ।
उनका ‘धाराक विरूद्ध’ कविता सङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कफ्र्यु’ कथा सङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा सङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
यसैगरी विश्वेश्वरप्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोध चौधरीले गरेकी छिन् । लेखिका चौधरीले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी छिन् ।
यसैगरी चर्चित मैथिली लोकगायक बिरपुरियालाई मिथिलांचल सर्वांगीण विकास संस्था, बेनीपट्टीले ‘मिथिला गौरव सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । संस्था अध्यक्ष अशोक कुमार झाद्वारा हस्ताक्षरित पत्र अनुसार, आगामी २०२५ नोभेम्बर २, ३ र ४ मा बेनीपट्टीस्थित श्री ललन उच्च विद्यालय परिसरमा आयोजना हुने ४१ औं मिथिला विभूति स्मृति पर्व समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिनेछ ।
बिरपुर गाउँको निम्न वर्गीय परिवारमा जन्मिएका ५० वर्षिय बिरपुरिया मैथिली लोकगीत–संगीत एवम् भजनको संरक्षण र प्रवद्र्धनमा गायनको माध्यमले योगदान पुर्याउँदै आएका छन् । मिथिला मधेशको ग्रामिण गायक श्रष्टा बिरपुरियालाई विशिष्ट कदर गर्दै उनलाई यस वर्षको मिथिला गौरव सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
लोकगायक बिरपुरियाले देश तथा विदेशका दर्जनौं ठूला मञ्चहरुमा आफ्नो प्रस्तुतिले लाखौं दर्शकको मन जितिसकेका छन् । उनका दर्जनौं गीतहरु युट्युबमा सङ्ग्रहित छन् ।