जेष्ठ नागरिक र अपाङ्ग यात्रुलाई हवाई टिकटमा विशेष छुट

राजविराज । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूको हवाई यात्रा अझ सुलभ र किफायती बनाउने उद्देश्यले विशेष छुटको व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष र नेपालभरिका आन्तरिक वायुसेवा कम्पनीहरूको प्रतिनिधिहरूसँग सहमतिमा विशेष छुट सम्बन्धी निर्णय भएको हो । निर्णयअनुसार ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा ५०%, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ७०%, ८० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ८०% छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्वारा जारी विज्ञप्ति अनुसार कुनै पनि उमेर समूहका फरक क्षमता भएका यात्रुहरूलाई कम्तीमा ५०% छुट सुनिश्चित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आइतबारैदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणको उद्देश्य, हवाई यात्रा सबैका लागि सहज, न्यायोचित र समावेशी बनाउनु रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस